साताको चौथो कारोबार दिन बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ठुलो गिरावट आएको छ । आज नेप्से परिसूचक ७४.७३ अंकले घटेर २७७६.३६ विन्दुमा ओर्लिएको छ ।
बजारमा ठुलो गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ । आज दिनभर कूल ३४७ कम्पनीका ३ करोड २ लाख कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कुल कारोबार भएका कम्पनीमध्ये मात्र १३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५५ कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा तीव्र गिरावट आए पनि केही कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोपावर र होटल फरेस्ट इनको मूल्य पनि करिब १० प्रतिशतकै हाराहारीमा बढेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रि–इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ७१ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, अपि पावर, ङादी ग्रुप पावर र शिवम सिमेन्टको पनि उल्लेख्य कारोबार भएको छ ।
सरकारले ल्याएको १०० बुँदे कार्यसूचीमा पुँजी बजार सुधारको विषय नपरेको बरु सरकारले सम्पत्ति शुद्धीकरण कारबाही अगाडि बढाएपछि यसले पुँजी बजारमा नकारात्मक असर परेको देखिएको छ ।
गत साता मात्रै सेयर बजार परिसूचक २९६० अंकसम्म पुगेको थियो । पछिल्लो ६ दिनको कारोबारमा बजारले करिब १८४ अंक गुमाइसकेको छ ।
बजार उच्च हुँदा २३ अर्बसम्मको कारोबार भएको बजारमा अहिले कारोबार रकम घटेर १२ अर्बको हाराहारीमा झरेको छ ।
