नयाँ विद्यार्थी भर्नाका बेला हुने गरेको प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सलाई आगामी वैशाख १ गतेदेखि पूर्णरूपमा बन्द गर्ने निर्णय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले गरेका छन् ।
ब्रिज कोर्स कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञान र शिक्षामा नकारात्मक प्रभाव पार्नुका साथै अनावश्यक आर्थिक बोझ बढाएको मन्त्रालयको ठहर छ ।
मन्त्रालयले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि नै भर्नालाई लक्षित गरी विभिन्न संस्थाहरूले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ ।
मन्त्रीस्तरबाट चैत १३ गते निर्णयअनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैमा निर्देशन दिइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए ।
मन्त्रालयले यस्ता कार्यक्रमहरू आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्न तथा कार्यक्रम सञ्चालन भए/नभएको अनुगमन गर्न समेत निर्देशन दिएको छ । यदि कुनै संस्थाले यो निर्णयविपरीत कार्यक्रमहरू सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउनसमेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन गरिएको छ ।

