युएईमा भ्रामक सूचना फैलाएको आरोपमा एक नेपालीसहित १० जना पक्राउ

युएईमा सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण फोटो भिडियो सार्वजनिक गरेको आरोपमा पक्राउ पर्नेमा नेपाली नागरिक पनि रहेको खुलेको छ । सामाजिक सञ्जालमा वास्तविक आक्रमणको भिडियोसँगै एआईबाट बनाइएको भिडियो सार्वजनिक गरी भ्रम फैलाएको आरोपमा शुक्रबार १० जना विदेशी नागरिक पक्राउ परेका थिए । त्यसमध्येमा एक जना नेपालका नागरिक पनि रहेको भनेर गल्फ न्युजले लेखेको छ।

प्रहरीले पक्राउ पर्नेहरूको आँखाको भाग छोपिएको तस्बिर सार्वजनिक गरेको छ । कुन देशका हुन् भनेर खुलाइएको भए पनि पूरा नाम भने सार्वजनिक गरेको छैन ।

पक्राउ पर्नेहरूमा इरान, पाकिस्तान, भियतनाम, फिलिपिन्स, इजिप्ट, नेपाल, क्यामरुन, भारत र बंगलादेशका छन् ।

उनीहरूले केही इरानी हमला र त्यसलाई युएईका प्रतिरक्षा प्रणालीले नष्ट गरिरहेको वास्तविक तस्बिर भिडियोमा एआईबाट नक्कली दृश्य जोडेर बनाइएको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

प्रकाशित भिडियोहरूमा यूएईका विभिन्न स्थानमा विस्फोट, आगलागी तथा सुरक्षा संकट भएको जस्तो भ्रामक दृश्य देखाइएको बताइएको छ । यस्ता सामग्रीले सार्वजनिक सुरक्षा र सामाजिक स्थिरतामा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै उनीहरूविरुद्ध कारबाही गरिएको जनाइएको छ ।

मध्यपूर्व क्षेत्रमा बढ्दो क्षेत्रीय तनावका बीच यूएई सरकारले सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना र अफवाह रोक्न निगरानी कडा बनाएको बताइएको छ । साथै, यस्ता सामग्री उत्पादन वा प्रसारण गर्नेलाई कडा कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ ।

त्यसबाहेक अलग्गै कारबाहीमा विभिन्न देशका ४५ जनालाई पनि पक्राउ गरिएको बिबिसीले जनाएको छ । उनीहरूमाथि पनि आक्रमणको भिडियो खिचेर भ्रामक सूचना फैलाइएको आरोप छ ।

पक्राउ पर्ने ती ४५ जना भने कुन कुन देशका हुन् भनेर खुलाइएको छैन ।

यसरी नै फोटो भिडियो सार्वजनिक गर्दा गत हप्ता दुबईमा ६० वर्षीय वेलायती नागरिक पक्राउ परेका थिए ।

उनीमाथि साइबर अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । उनले दुबईमाथि उडिरहेको इरानी मिसाइलको भिडियो खिचेका थिए ।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार युएईमा साइबर अपराधसम्बन्धी कसुरमा कम्तिमा दुई वर्ष जेल सजाय र २ लाख युएई दिराम जरिवाना हुन सक्नेछ ।

अमेरिका-इरान युद्ध सुरू भएयता इरानले युएईमा १८०० भन्दा ड्रोन र मिसाइल प्रहार गरेको छ ।

तीमध्ये धेरै मिसाइल र ड्रोन युएईको प्रतिरक्षा प्रणालीले नष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *