चितवनमा पुगेका बालेनले सात मिनेटसम्म केके भने ? पूर्णपाठसहित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे  ‘हामी आयौँ’ परिवर्तन उद्घोष सभालाई सम्बाेधन गर्न चितवन पुगेका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले करिब ७ मिनेट भाषण गरेका छन् । मासमा बाेल्न र भाषण गर्न कमै रुचाउने बालेनले चितवनमा करिब ७ मिनटसम्म पर्यटन, व्यवसाय, उद्याेग, कृषि, उर्जा, यातायातलगायतका विषयमा बाेले ।  देशको आर्थिक संरचना उत्पादनमुखी नहुँदा समस्या गहिरिँदै गएको बताएका छन्। 

उनले स्रोत, जनशक्ति र सम्भावना हुँदाहुँदै पनि व्यवस्थापन कमजोरीका कारण देश अघि बढ्न नसकेको तर्क गरे।

उनले देशको वर्तमान अवस्थालाई हेटौँडा सिमेन्ट उद्योग सँग तुलना गर्दै उत्पादन ठप्प हुँदा अर्थतन्त्र चलायमान नहुने बताए। अब भने उद्योगधन्दा वाईवाई जस्तै निरन्तर सञ्चालन हुने वातावरण बनाउनुपर्ने उनको धारणा थियो।

शाहले कृषि क्षेत्रमा देखिएको मूल्य अस्थिरता र बजार अभावलाई संरचनात्मक समस्या भन्दै सीमित बिचौलिया र सिण्डिकेट प्रणालीका कारण किसान मारमा परेको आरोप लगाए।

चितवनका किसानले दूध पोख्नु र तरकारी फाल्नुपरेको अवस्थालाई उदाहरण दिँदै उनले उत्पादन र बजार व्यवस्थापनबीच तालमेल नहुँदा यस्तो समस्या दोहोरिएको बताए।

उनले नेपालमै उत्पादन हुने विद्युत्को उपयोग गर्दै कोल्डस्टोर पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। सिजनमा सस्तो उत्पादन भण्डारण गरेर अभावका बेला समान मूल्यमा बिक्री गर्न सकिने व्यवस्था मिलाए किसान र उपभोक्ता दुवै लाभान्वित हुने उनको भनाइ थियो।

देशका विभिन्न जिल्लामा देखिएका समस्या समान प्रकृतिका रहेको उल्लेख गर्दै उनले स्थानीय स्रोत, कृषि र पर्यटन क्षेत्रको समुचित उपयोगमार्फत अर्थतन्त्र चलायमान बनाउने लक्ष्य रास्वपाको रहेको बताए।

यस्ताे छ उनकाे भाषणकाे पूर्णपाठ 

तपाईंहरूको फेभरेट बाजा कुन हो बाजा ? बजाउन मिल्ने चिज ?
यसपालि के गर्ने त्यसलाई ?

अघि प्लेनबाट ल्यान्डिङ गर्दा-गर्दै एउटा कुरा नोटिस गरिरहेको थिएँ, यहाँनेर चितवनमा छतमाथि चाहिँ यस्तो जस्ता राख्ने चलन रहेछ है ? सबका सब नीलो। जिस्काउनलाई राखेको जस्तो। कसलाई जिस्काउनुभएको त्यसरी ? त्यो नीलो छानाले चाहिँ त्यो छतलाई मकि्कनबाट जोगाउँदो रहेछ के, राष्ट्रिय स्वतन्त्र पार्टी जस्तै।

चितवनमा अघि झर्दै गर्दाखेरि एकजना भाइले भन्नुभयो- “दाइ देशभर जाँदाखेरि जसरी टुरिजम प्रमोसन गर्नुभएको थियो, एकचोटि चितवनको पनि टुरिजम प्रमोसन गरिदिनुहोला” भनेर। मैले भनेँ- मेसीलाई फुटबल खेल्न सिकाउनुपर्छ? रोनाल्डोलाई फुटबल खेल्न सिकाउनुपर्छ ?

हाम्रो चितवनका हाम्रा थारु समुदायमा भएका होमस्टेहरू, रिसोर्टहरूमा देख्न सकिन्छ कि यहाँको उत्पादन, यहाँको लुगा, यहाँको म्युजिक, यहाँको खानेकुरालाई कसरी उहाँहरूले टुरिजम प्रमोसनको लागि उहाँहरूले विश्वमा चिनाउनुभएको छ, त्यो हेर्दाखेरि चितवनले चाहिँ देशलाई टुरिजम प्रमोसन सिकाउनुपर्छ। घरमा खाने आफ्नो लोकल खाना, आफ्नो लोकल परिकार, घरमा खाने त्यो लोकल परिकारलाई एउटा इन्टरनेसनल क्युजिनको रूपमा उहाँहरूले प्रस्तुत गर्न सक्नुभएको छ। त्यो पूरै देशले सिक्न जरुरी छ। सिकाउने होइन त चितवनवासीले पूरै विश्वलाई टुरिजम प्रमोसन?

राम्रो कुराहरू यहाँको, यहाँको ठाउँहरूको धेरै छन्। एउटा समस्या रहेछ यहाँ, हरेक वर्ष न्यूजमा देख्न पाइन्छ किसानले बाटोमा दूध पोखाएको, तरकारी फालेको। त्यो के रहेछ भन्दाखेरि किसानले सही बजार नपाएको, किसानले सही मूल्य नपाएको एउटा समस्या रहेछ। केही सीमित बिचौलिया, केही सीमित नेताहरूको एउटा सिन्डिकेटले गर्दाखेरि पारी जुन अनुदानै अनुदानले कृषि हुन्छ त्यो सस्तो जस्तो देखिन्छ। त्यो सस्तो तरकारी यहाँ ल्याएर यहाँको किसानको मूल्य चाहिँ महँगो जस्तो देखाएर एउटा भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम भएको छ। त्यो रोक्न जरुरी छ।

फेरि यो चिज समाधान गर्दै गर्दाखेरि “ओहो महँगो तरकारी खानुपर्ने भयो” जस्तो लाग्ला। त्यो भ्रम हो। त्यो भ्रमलाई चाहिँ चिर्न जरुरी छ। नेपालमै उत्पादन भएको सस्तो बिजुलीलाई नेपालकै सस्तो कोल्ड स्टोरमा सिजनको बेला जुन बेला तरकारी सस्तो हुन्छ त्यो बेला स्टोर गरेर राखियो भने भोलि महँगी हुने सिजनमा सेम मूल्यमा बेच्न सकिन्छ। किसानले पनि मूल्य पाउँछ, खाने मान्छेले पनि सस्तोमा तरकारी किन्न सक्छ। त्यो गर्न चाहन्छौँ हामी।

तपाईंहरूले याद गर्नुभएको छ, देशभर जुन लामो दूरीको यातायात ट्रकहरूमा ‘नारायणी’ लेखेको हुन्छ? याद गर्नुभएको छ? नम्बर प्लेट। जसरी त्यो लोकल बसहरू, लामो दूरीको बसहरूको हब भएको छ यो चितवन, त्यसरी नै पूर्वदेखि पश्चिमसम्मको तरकारीलाई कोल्ड स्टोरेजमा स्टोर गर्ने हब बन्न सक्छ चितवन। त्यो बनाउन जरुरी छ। देशवासीलाई आफ्नै तरकारी खुवाउन जरुरी छ र किसानलाई सही मूल्य दिन जरुरी छ।

वर्षामा हाम्रा उत्पादन… वर्षाको…

आई लभ यू! बोल्नै दिँदैनन् यार! गीत बजाउँ नाचौँ ! 

वर्षाको बेला नेपालमा उत्पादन भएको बिजुली खेर गइरहेको हुन्छ। सुख्खामा हामीसँग आफैँ बिजुली हुँदैन। तर त्यो बिजुली स्टोर गर्ने ब्याट्री त छैन जस्तो लाग्छ हामीलाई, तर छ। हाम्रो देशमा उत्पादन भएको सस्तो बिजुली बेचेर देश धनी बन्दैन, त्यसलाई प्रयोग गरेर त्यसलाई स्टोर गरेर बन्छ। र त्यो स्टोर गर्ने ब्याट्री हो- मल कारखाना, डाटा सेन्टर, कोल्ड स्टोरेजहरू। त्यस्तो ब्याट्रीहरू बनाउन जरुरी छ आफ्नो बिजुली थामेर राख्नलाई। त्यो बनाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी।

यो चुनावको क्रममा हामी पूर्वदेखि पश्चिमसम्म पूरै देश घुम्न गयौँ। लगभग ७-८ हजार किलोमिटर हिँडियो होला देश बुझ्नलाई। सबै लगभग ४५-५० वटा जिल्ला घुमियो होला। त्यो जिल्लाहरू घुम्दै जाँदाखेरि के महसुस भयो भन्दाखेरि लगभग-लगभग देशभरिका समस्याहरू, देशभरिका कुराहरू उस्तै-उस्तै रहेछन्। कृषिको समस्याहरू, पर्यटन क्षेत्रमा भएका समस्याहरू देखियो।

तर एउटा गुड न्यूज पनि छ त्यहाँ। गुड न्यूज के हो भन्दाखेरि एउटा जिल्लामा समस्या छ भने त्यसको समाधान अर्को जिल्ला देशभित्रै रहेछ। त्यो समाधान मिलाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी।

हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ। मेसिन पनि छ, म्यानपावर पनि छ, खानी पनि छ, तर बन्द। अब चल्नुपर्यो। नेपाली कांग्रेसको वाईवाई फ्याक्ट्री जस्तै चल्नुपर्यो अब त्यो पनि। पूरै देशभर चल्नुपर्यो, १०० वटा भन्दा देशमा जानुपर्यो। त्यसरी देशका उद्योग कलकारखानाहरूलाई चलाउने पार्टी बन्न चाहन्छ…

अब यहाँ आइयो, तपाईंहरूलाई भेटियो धेरै खुसी लाग्यो। तपाईंहरू किन टेन्सन लिनुहुन्छ के? पार्टीको सभापति नै यहाँ उठ्नुभएको छ, केको टेन्सन? तपाईंहरूका समस्या, पूरै देशको समस्या सभापतिज्यू, हामी सबै पार्टीका नेतागण, कार्यकर्तादेखि लिएर तपाईं हामी सबै मिलेर अब देश बनाउने हो। र आज यो हाम्रो सभामा तपाईंहरूलाई भेटेर ज्यादै खुसी लागेको कुरा तपाईंहरूले पनि भनिसक्नुभएको छ। धेरै बोल्न चाहिन। धेरै-धेरै माया, तपाईंहरूको जय होस्, देशको जय होस्। जय घण्टी, जय देश, जय नेपाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *