रास्वपाले चुनाव प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाउने

निर्वाचन आयोगले चुनाव प्रचारप्रसारको क्रममा निर्वाचन चिह्नको भौतिक प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ।

आयोगले आज ९ फागुन १० गते प्रकाशित सूचनामा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचार गर्दा भौतिक स्वरुप जस्तै धातु, काठ वा अन्य कुनै सामग्रीमा बनाइएको निर्वाचन चिह्न साथमा बोकी प्रयोग गर्न नपाइने जनाएको छ।

यस निर्णयको पृष्ठभूमि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा घण्टी बजाउँदै गरिएको चुनाव प्रचारको सम्बन्धमा उठेका गुनासो हुन्। आयोगले रास्वपाको यो शैली निर्वाचन आचारसंहिता उल्लङ्घन हुने भएकाले सचेत गराएको हो।

आयोगको निर्णयसँगै अब रास्वपाले अपनाइरहेको घण्टी बजाएर प्रचार गर्ने परम्परागत शैली परिवर्तन गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले रास्वपाको चुनाव प्रचार शैलीविरुद्ध विज्ञप्ति नै प्रकाशित गरी आपत्ति जनाएको थियो।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी सूचनामा भनिएको छ- “प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा भाग लिने राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने किसिमका भौतिक स्वरुपका निर्वाचन चिह्न प्रयोग गरेर प्रचारप्रसार नगर्नुपर्नेछ। निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ खण्ड (९ड) अनुसार दलको झण्डा र निर्वाचन चिह्नको प्रयोग केवल तोकिएको मापदण्ड अनुसार हुनुपर्छ। यदि यस विपरीत देखियो भने यसलाई आचारसंहिता उल्लङ्घन मानिनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *