आहा रारा पोखरा गोल्डकपको उपाधी १२ वर्षपछि आयोजक सहारा क्लबलाई

आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ।

पोखरा रङ्गशालामा भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २–० गोलले पराजित गर्दै सहाराले १२ वर्षपछि उपाधि जितेको हो। विजेता सहाराले ट्रफीसहित रु १४ लाख एक हजार पुरस्कार प्राप्त गरेको छ भने उपविजेता जावलाखेलले रु सात लाख एक हजार र ट्रफी प्राप्त गरेको छ। सहाराले यसअघि विसं २०७० मा पहिलोपटक उपाधि जितेको थियो।

खेलको २५औँ मिनेटमा सहाराका फरवार्ड मुकुन्दकुमार निउरेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सुशील लामाको कर्नर बलमा निउरेले हेडमार्फत गोल गरेका थिए। दोस्रो हाफको ७३औँ मिनेटमा सहाराका विदेशी खेलाडी टाय डिनियल बादारुले अर्को गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सहाराका मुकुन्दकुमार निउरे घोषित हुँदै इलेक्ट्रिक स्कुटर पुरस्कार पाए। उत्कृष्ट डिफेन्डर सहाराका बादारु, सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाईजका पापा आईबोउ केबे, उदियमान खेलाडी निउरे, उत्कृष्ट स्ट्राइकर जावलाखेलका धर्वेन्द कुँवर, उत्कृष्ट गोलकिपर सहाराका टीकेन्द्र थापा, उत्कृष्ट मिडफिल्डर जावलाखेलका बाउबकर सिसिको, उत्कृष्ट प्रशिक्षक सहाराका सुनिल रानामागर र फेयर प्ले अवार्ड आभा फुटबल क्लब उज्वेकिस्तानले जितेका छन्।

उत्कृष्ट विधाका विजेताले जनही रु २५ हजार पुरस्कार प्राप्त गरेका छन्। सहारा क्लब पोखराको आयोजनामा माघ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा विदेशी तीन र नेपालका नौ गरी १२ टोली सहभागी थिए।

विजेता तथा उपविजेता टोलीलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा लगायतले पुरस्कार वितरण गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *