युक्रेनको राजधानी किएभमाथि पुनः रुसी आक्रमण

रुसले मङ्गलबार युक्रेनको राजधानी किएभमाथि पुनः आक्रमण सुरु गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले घोषणा गरेको छोटो युद्ध विरामपछि चिसो मौसमको बीचमा नयाँ आक्रमण भएको हो ।

राष्ट्रपति ट्रम्प ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिसो मौसममा किएभ र अन्य शहरहरूमा आक्रमण रोक्न सहमति जनाएको जानकारी दिएका थिए । क्रेमलिनले युद्ध विराम आइतबारसम्म लागू हुने बताएको छ । तर युक्रेनले मस्कोको आक्रमण नरोकिएको स्पष्ट पारेको छ ।



किएभ सहरको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोका अनुसार रुसले रातभर कडा चिसोका बीच अर्को ठूलो आक्रमण गरेको हो । आपतकालीन सेवाले किएभमा तीन जना घाइते भएको जनाएको छ ।

पूर्वी सहर खार्किवमा भएको रुसी गोलाबारीमा दुई जना घाइते भएको क्षेत्रीय सेना प्रमुख ओलेग सिनेगुबोभले जानकारी दिएका छन् । उनका अनुसार घन्टौं लामो आक्रमणले ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै शहरलाई चिसोमा ताप विहीन बनाउने उद्देश्य राखेको थियो ।



अधिकारीहरूले प्रणाली सुरक्षित राख्न आठ सय भन्दा बढी घरमा अस्थायी रूपमा ताप कटौती गर्नुपरेको बताएका छन् । आवश्यक परेमा सर्वसाधारणलाई चौबीसै घण्टा सञ्चालनमा रहेका सुरक्षित केन्द्रहरूमा जान आग्रह गरिएको छ ।

किएभमा रातिको तापक्रम माइनस १७ डिग्री सेल्सियस र खार्किवमा माइनस २३ डिग्री सेल्सियससम्म झरेको छ ।

रुसले युक्रेनमाथि गरेको आक्रमणले यसै महिनामा चार वर्ष पूरा गर्दैछ । वासिङ्टनले शान्ति सम्झौताका लागि प्रयास गरिरहेको भए पनि अबु धाबीमा भएको प्रारम्भिक वार्ता सफल हुन सकेन । वार्ताको दोस्रो चरण बुधबार सुरु हुने अपेक्षा गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले हालको तनाव घटाउने प्रयासले विश्वास निर्माणमा सहयोग पुगेको बताएका छन् । तर क्षेत्रीय नियन्त्रणको विषय अझै विवादकै रूपमा रहेको छ । रुसले डोनेट्स्क क्षेत्रमाथि पूर्ण नियन्त्रण चाहेको छ, जसलाई किएभले अस्वीकार गर्दै आएको छ ।


एएफपीको विश्लेषणअनुसार जनवरी महिनामा रुसी सेनाले युक्रेनमा आफ्नो अग्रगमनलाई तीव्र बनाएको देखिन्छ । सो अवधिमा करिब चार सय ८१ वर्ग किलोमिटर भूभाग नियन्त्रणमा लिइएको छ । यो अघिल्लो महिनाको तुलनामा झन्डै दोब्बर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *