बैतडीको पाटन नगरपालिका– ८, विजयपुरनजिकै सोमबार बिहान बोलेरो जिप दुर्घटना हुँदा एउटै वडाका तीनसहित चारजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
सुर्नया गाउँपालिका– ६, मोतीनगरबाट डडेलधुराका लागि छुटेको म.१ज २२४ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा तीनजनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा मृत्यु भएको बैतडीका डिएसपी दीपककुमार रायले बताए ।
दुर्घटनामा डडेलधुराको आलिताल गाउँपालिका– ३ का १३ वर्षीय राकेश रावल तथा बैतडीको सिगास गाउँपालिका– १ का २४ वर्षीय निशान्त बोहरा, २८ वर्षीय भानदेव भट्ट र २७ वर्षीया वसन्ती ऐरको ज्यान गएको हो । तीनजनाको घटनास्थलमै र ऐरको उपचारका क्रममा डडेलधुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सिगास– १ की १९ वर्षीया विमला ऐर, चार वर्षीया पिन्सा ऐर, २५ वर्षीया लालमती बोहरा र जिपचालक २८ वर्षीय गणेश विष्ट घाइते भएका छन् । त्यस्तै, पाटन नगरपालिका– ८ की २५ वर्षीया कमला विष्ट र आलिताल गाउँपालिका–३ घर भई गाजरीमा रहेको सिगास माविका शिक्षक ३२ वर्षीय वीरेन्द्र बोहरा पनि घाइते भएका छन् । उनीहरूमध्ये तीनजनाको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको छ भने विमला र लालमतीलाई धनगढी रेफर गरिएको छ ।
