त्रिवि शिक्षण अस्पताल टिचिङ अस्पतालले माघ एक गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ। टिचिङ अस्पताल प्रशासनले सार्वजनिक सूचना जारी गर्दै उक्त निर्णयको जानकारी दिएको हो।
सूचनामा अस्पतालको उपचार दररेटमा बिमा बोर्ड र अस्पतालबिच अन्तर रहेको, पटक–पटक जानकारी प्रस्ताव गर्दा सुनुवाइ नभएको उल्लेख गरिएको छ। साथै दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोतबाट दैनिक खर्च धान्दै आएको अस्पतालले अब थप घाटा व्यहोर्न नसकेको उल्लेख छ।
स्वास्थ्य बिमा बोर्डले कार्यक्रमलाई एकपक्षीय ढंगले अस्पतालको मागदावी अस्वीकृत गरी अस्पताललाई बिमाको खर्च भार बोझिलो बनेपछि बिमा कार्यक्रम नै बन्द गर्न बाध्य भएको अस्पतालका निर्देशक डा. सुवास आचार्यले बताए। स्वास्थ्य बिमा कार्यक्रमको रेफर सिस्टममा सुधार भएमा, शुल्क समायोजन उपत्यकाका अस्पतालको दररेटमा सेवा स्वीकार भएमा र अन्य शुल्क समायोजन भएमा सेवा पुनः सुरु गर्ने अस्पतालले जनाएको छ।
निर्देशक आचार्यका अनुसार अस्पतालले गरेको बिमा खर्च स्वास्थ्य बिमा बोर्डले विभिन्न बहानामा अस्वीकार गर्दा हरेक महिना डेढदेखि २ करोडको दरले खर्च अस्वीकार हुने गरेको छ। त्यो अस्वीकारले करोडौँ रुपैयाँ अस्पतालले घाटा बेहोर्नु परेपछि कार्यक्रम बन्द गर्न बाध्य बनेको हो। यो अस्पतालले प्रत्येक महिना दाबी गर्दै आएको बिमा खर्चको दाबी करिब ५ करोड हुने गरेकोमा बोर्डले ४० प्रतिशत रकम अस्वीकार गर्दै आएको छ। यो हिसाबले दुई वर्षमै ४० देखि ४५ करोड रकमको भुक्तानी हुन सकेको छैन।
बिमा बोर्डले विभिन्न सर्तमा अस्वीकार गर्दा अस्पताल मर्कामा परेको निर्देशक आचार्य बताउँछन्। बोर्डले प्रादेशिक अस्पतालको शुल्क सरह शुल्क तालिकाको आधारमा भुक्तानीको मूल्यांकन गर्दा, एउटा बिरामी आएर उपचार गरेपछि अर्को विभागमा उपचार गरेको शुल्क अस्वीकार गर्दा अस्पताल मर्कामा परेको बताए।
‘मुटुको उपचार गर्न आएको बिरामीलाई हड्डीको समस्या भएर रेफर गरेको छ भने भुक्तानी गर्दा अस्वीकार भएको पनि पाइयो, कसरी त्यो व्यक्तिमा हड्डीको समस्या हुँदैन?’ उनले भने। त्यसैगरी अस्पतालका प्राध्यापकले अर्को विभागमा रेफर गरेकोदेखि थुप्रै यस्ता साना–साना समस्याले सेवा दिनै अप्ठ्यारो परेकोले सेवा बन्द गर्न बाध्य भएको उनले गुनासो गरे।
कमीकमजोरी सच्याउनका लागि यो अस्पतालले सुरुमै माग प्रस्ताव बोर्डदेखि स्वास्थ्य मन्त्रालयसम्म राखे पनि सुनुवाइ नहुँदा अस्पताल अप्ठ्यारोमा परेको निर्देशक आचार्यले बताए। उनले भने, ‘याँ बोर्डका निर्देशकलाई भने पनि उहाँले पनि कार्यान्वयन गर्नु भएन’।
देशभरिका रेफरल बिरामी आउने टिचिङ अस्पतालमा बिमा कार्यक्रम रोकिएमा बिरामी मर्कामा पर्ने देखिन्छ। यो विषयमा बुझ्न खोज्दा स्वास्थ्य बिमा बोर्डका निर्देशक तथा सूचना अधिकारीसँग भने सम्पर्क हुन सकेन।
