मन्त्री गीता चौधरीको सम्पत्ति: १०० तोला चाँदीदेखि माइतीले दिएका बाख्रा–कुखुरासम्म

कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् ।

आइतबार सार्वजनिक गरिएको विवरणअनुसार उनले ५० हजार रुपैयाँ मूल्य पर्ने घडी लगाउने गरेको उल्लेख छ । त्यस्तै, ९० हजार रुपैयाँको मोबाइल र ७५ हजार रुपैयाँको ल्यापटप रहेको जनाइएको छ ।

उनको नाममा ५ तोला सुन र १०० तोला चाँदी रहेको उल्लेख छ । उक्त सुन तथा चाँदीको स्रोत पैतृक र स्वआर्जन भएको विवरणमा जनाइएको छ ।

बैंक खातातर्फ ५ वटा बैंकमा गरी कुल १ लाख २६ हजार रुपैयाँ मौज्दात रहेको विवरणमा उल्लेख गरिएको छ ।

मन्त्री चौधरीले ऋण लिएर एउटा स्कुटर खरिद गरेको पनि विवरणमा उल्लेख छ । १ लाख ५० हजार रुपैयाँ ऋणमध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको जनाइएको छ ।

त्यस्तै, स्वआर्जनबाट खरिद गरिएको ३ लाख ३० हजार रुपैयाँ मूल्यको अर्को स्कुटरसमेत रहेको उल्लेख गरिएको छ ।

सम्पत्तिमा माइतीले उपहार दिएको २ वटा बाख्रा र १० वटा कुखुरा पनि रहेको विवरणमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *