मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै चैत २०, २१ र २२ गते राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द रहने जानकारी दिएको हो । यसअघि चैत १७ देखि १९ गतेसम्म सोही समयमा सडक बन्द गरी मर्मत कार्य भइरहेको थियो ।
सडक मर्मतका क्रममा भेटिएको कडा चट्टान फोड्न र सफा गर्न थप समय आवश्यक परेको मुग्लिन–नागढुङ्गा सडक आयोजना कार्यालयको अनुरोध तथा स्थलगत अनुगमनका आधारमा समय थप गरिएको जिल्ला प्रशासनले जनाएको छ । तोकिएको समयमा एम्बुलेन्स जस्ता अत्यावश्यक बाहेकका अन्य सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनहरूको आवागमन पूर्णरूपमा बन्द रहनेछ ।
मेसिनरी औजार र जनशक्ति परिचालन गरी तीव्र गतिमा काम गर्दा समेत काम बाँकी रहेकाले बाध्यात्मक रूपमा समय थप गर्नुपरेको प्रशासनले जनाएको छ ।
