वर्षाका कारण मंगलबार साँझदेखि बन्द गरिएको विपी राजमार्गमा पुनः यातायात आवागमन सुचारु भएको छ । काभ्रेपलाञ्चोकको पनौती र नमोबुद्धलगायतका माथिल्लो क्षेत्रमा वर्षा भएपछि सम्भावित जोखिमलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालयले सवारी सञ्चालनमा रोक लगाएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टका अनुसार वर्षा रोकिएर मौसममा सुधार आएसँगै राति नौ बजेदेखि राजमार्गमा दुईतर्फी रूपमै सवारी आवागमन सुचारु गरिएको हो । “रोसी खोलाको माथिल्लो तटीय क्षेत्रमा वर्षा हुँदा खोलामा पानीको सतह बढ्ने र नदी किनारको अस्थायी सडकमा जोखिम हुने भएकाले केही समय सवारी रोकिएको थियो,” उहाँले भन्नुभयो ।
गत वर्षको बाढीले सडक क्षतिग्रस्त बनाएपछि हाल रोसी खोलाको किनारैकिनार अस्थायी मार्ग (डाइभर्सन) बाट सवारी साधन सञ्चालन भइरहेका छन् । वर्षाका कारण हुन सक्ने मानवीय र भौतिक क्षति कम गर्न प्रहरीले सतर्कता अपनाउँदै सुरक्षित स्थानमा सवारी साधनहरूलाई रोकेको थियो । अहिले राजमार्गमा सवारी साधनहरू निर्वाध रूपमा सञ्चालन भइरहेका छन् ।
