२४ घन्टा नबित्दै आफ्नै निर्णयबाट पछि हट्यो शिक्षा मन्त्रालय

शिक्षामन्त्री सस्मित पोखरेलले एसइई दिएका विद्यार्थीलाई लक्ष्य गरेर सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताएका छन्।

सोमबार मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूको प्रश्नमा एसइई दिइसकेका र कक्षा ११ मा जान तयारी गरिरहेका विद्यार्थीलाई लक्ष्य गरेर सञ्चालन हुँदै आएका ट्युसन सेन्टर र ब्रिज कोर्सलाई रोक्ने निर्णय गरिएको बताए।

‘एसइई दिएका विद्यार्थीलाई ब्रिज कोर्सले तानातान गर्ने भएकाले यो तत्कालै रोक्ने निर्णय गरिएको हो,’ उनले भने।

मन्त्री पोखरेलले रिजल्टको अवधिसमेत छोट्याइएको उल्लेख गर्दै यस्तो अवस्थामा अनावश्यक प्रतिस्पर्धा र दबाब कम गर्न कदम चालिएको बताए।

वैशाख १ देखि नै यस्तो प्रकारका कक्षा सञ्चालनमा रोक लगाइने उनले बताएका छन्।

साथै, एसइईभन्दा माथिका कोचिङ र ट्युसन सेन्टरहरूलाई पनि कानुनअनुसार नियमन गरिने उनले बताए।

आइतबार शिक्षा मन्त्रालयले विद्यालय र उच्चशिक्षाका लागि सञ्चालन हुने परीक्षाको तयारी तथा ब्रिज कोर्स पूर्णरूपमा बन्द गर्ने निर्णय भएको भन्दै सूचना जारी गरिएको थियो।

सोमबार भने मन्त्रालयले यो सूचनानै हटाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *