राखेपले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया स्थगित गर्नू

पटकपटक स्थगित हुँदै आगामी १३ चैतका लागि सरेको अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा (अर्डिनरी कंग्रेस) तथा निर्वाचन स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्देशन दिएको छ।

राखेप संघ-संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले सोमबार एन्फालाई पत्र पठाउँदै स्वीकृतिबिना साधारण सभा तथा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गर्न निर्देशन दिएका हुन्। ‘परिषद्को स्वीकृति नभएसम्म संघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्न राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को (ङ) बमोजिम जानकारीका लागि अनुरोध छ,’ पत्रमा भनिएको छ।

एन्फा नेतृत्वको चारवर्षे कार्यकाल आगामी ४ असार २०८३ सम्म छ। कार्यकाल सकिनुअघि नै एन्फाले २८ माघमा आगामी चारवर्षे कार्यकालका लागि झापामा चुनाव गर्ने तयारी गरेको थियो। त्यसविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दर्ता भएको थियो।

त्योसँगै एन्फाले ६ माघसम्म निर्वाचनका सबै प्रक्रिया स्थगित गरेको थियो। अदालतले २७ माघमा अदालतले निर्वाचन प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो। नयाँ कार्यतालिकाअनुसार २८ फागुनमा एन्फाको निर्वाचन हुने भनिएको थियो।

तर, निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन आचारसंहितालाई उल्लेख गर्दै एन्फा चुनाव रोकेको थियो। पछिल्लोपल्ट २२ फागुनमा नयाँ निर्वाचन तालिका प्रकाशन गर्दै १३ चैतमा निर्वाचन गर्ने अर्को सूचना जारी गरेको थियो। राखेपले त्यसमा पनि ब्रेक लगाएको हो। राखेपले यसअघि नै एन्फालाई प्रचलित कानुनबमोजिम साधारणसभा गर्न ११ बुँदे निर्देशनसहित पत्राचार गरेको थियो। उक्त निर्देशनको अवज्ञा गर्दै एन्फाले निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै उपाध्यक्ष विराटजंग शाही र केन्द्रीय सदस्य रूपेश अधिकारीले उजुरी हालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *