होर्मुजमा इरानको नियन्त्रण दाबी, युद्ध तीव्र

 मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्दा इरानले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग होर्मुज जलडमरूमध्यमा ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेको छ । यसैबिच इजरायलले इरान र लेबनानमा नयाँ आक्रमण सुरु गरेको जनाएको छ, जसले क्षेत्रीय तनाव थप चर्किएको सङ्केत दिएको छ ।

इरानको रिभोलुसनरी गाड्र्सले होर्मुज हुँदै आवतजावत गर्ने कुनै पनि जहाज मिसाइल वा ड्रोन आक्रमणको जोखिममा पर्न सक्ने चेतावनी दिएको छ । होर्मुज जलडमरूमध्य विश्व तेल तथा ग्यास आपूर्तिका लागि अत्यन्त संवेदनशील समुद्री मार्ग मानिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेना तेल ट्याङ्करलाई एस्कर्ट गर्न तयार रहेको बताउनुभएको छ । 

गाड्र्सले अमेरिका र इजरायली लक्ष्यमा ४० भन्दा बढी मिसाइल प्रहार गरिएको दाबी पनि गरेको छ । युद्धको पृष्ठभूमिमा इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको तीन दिने राजकीय अन्त्येष्टि बुधबार साँझदेखि सुरु हुने जनाएको छ । खामेनी शनिबार अमेरिका-इजरायल आक्रमणमा मारिएको इरानको दाबी छ । त्यसपछि द्वन्द्व तीव्र बनेको हो । इजरायलका रक्षामन्त्रीले सम्भावित उत्तराधिकारीसमेत ‘हत्याको लक्ष्य’ बन्न सक्ने चेतावनी दिनुभएको छ ।

बुधबार बिहान इरानबाट प्रक्षेपित क्षेप्यास्त्रले जेरुसेलम र तेल अभिवसहित इजरायलका विभिन्न क्षेत्रमा हवाई आक्रमणको साइरन बजाएको थियो । इजरायली सेनाले खतरा निष्क्रिय पार्न काम गरिरहेको जनाएको छ । जेरुसेलम नजिकै आगलागी भएको खबर आए पनि तत्काल हताहतको विवरण प्राप्त भएको छैन ।

यसैबिच श्रीलङ्काले आफ्नो क्षेत्रीय जलक्षेत्र बाहिर १८० चालक दलसहितको एक इरानी फ्रिगेट डुबेको जनाएको छ । कारण खुल्न बाँकी छ । श्रीलङ्काका विदेशमन्त्रीले आइरिस डेनामा सवार ३० इरानी नाविकको उद्धारका लागि जहाज र विमान पठाइएको जानकारी दिनुभयो । मध्यपूर्वमा अमेरिकी सैन्य बलको नेतृत्व गरिरहेका एडमिरल ब्राड कुपरले हालसम्म इरानमा करिब दुई हजार लक्ष्यमा प्रहार गरिएको बताउनुभयो । 

उहाँका अनुसार इरानको हवाई सुरक्षा संरचना गम्भीर रूपमा क्षतिग्रस्त पारिएको छ र सयौँ ब्यालेस्टिक मिसाइल, लन्चर तथा ड्रोन नष्ट गरिएको छ । लेबनानको राजधानी बेरुतमा इजरायल र हिजबुल्लाहबिच आक्रमण र रकेट प्रहार आदान प्रदान हुँदा विस्फोटका आवाज सुनिएको एएफपीका संवाददाताले जनाएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेरुतको दक्षिण क्षेत्रका दुई सहरमा इजरायली आक्रमणबाट कम्तीमा छ जनाको मृत्यु र आठ जना घाइते भएका छन् । 

राज्य मिडियाले बेरुतको हजमिह उपनगर र पूर्वी सहर बालबेकमा आक्रमण हुँदा थप पाँच जनाको मृत्यु भएको जनाएको छ । साउदी अरेबियाले राजधानी रियादको दक्षिण क्षेत्रमा दुई वटा क्रुज मिसाइल र नौ ड्रोन रोकेको जनाएको छ । इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एक ड्रोन खसालिएको सुरक्षा स्रोतले जानकारी दिएको छ । कतारले रिभोलुसनरी गाड्र्ससँग सम्बन्धित दुई जासुसी कक्ष ध्वस्त पारेको र १० जना संदिग्धलाई पक्राउ गरिएको जनाएको छ ।

इजरायली सेनाले इरानमाथि ‘व्यापक हमला’ सुरु गरिएको बताउँदै तेहरानको सुरक्षा कमान्ड केन्द्रसहित दर्जनौँ लक्ष्यमा आक्रमण गरिएको दाबी गरेको छ । दुबईस्थित अमेरिकी वाणिज्य दूतावासमा ड्रोन आक्रमणपछि आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले साउदी अरेबिया र ओमानमा रहेका गैर-आपतकालीन कर्मचारी तथा परिवारलाई सुरक्षाको कारण देखाउँदै प्रस्थान गर्न अनुमति दिएको छ । साथै जोर्डन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सबाट अमेरिकी नागरिकलाई बाहिर निकाल्न चार्टर उडानको व्यवस्था गरिएको जनाएको छ । युद्धको प्रभाव विश्व बजारमा समेत देखिएको छ । एसियाली सेयर बजारमा तीव्र गिरावट आएको छ र सियोलको सेयर सूचक १२ प्रतिशतभन्दा बढीले घटेको छ । यसैबीच कच्चा तेलको मूल्य उकालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *