धनुषामा १८ वर्षीय किशोरको बीभत्स ह**त्या : प्रेमिकासहित ३ जना पक्राउ

धनुषाको हंसपुर नगरपालिका वडा नं. ९ रुदौली बस्ने १८ वर्षीय किशोर सुमित मण्डलको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले प्रेस विज्ञप्ति जारी गर्दै हत्यामा संलग्न रहेको आरोपमा मृतककी प्रेमिका र उनका दाजु र काका पर्ने आफन्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा २९ वर्षीय परमेश्वर मण्डल, २० वर्षीय दीपेश मण्डल र १८ वर्षीया काजल मण्डल छन् ।

घटना विवरण अनुसार, सुमित मण्डल गत फागुन १३ गते साँझ आफ्नी प्रेमिका काजल मण्डललाई भेट्न उनको घर गएका थिए। सो समयमा घरमा अन्य सदस्य नभएको मौका छोपी पुगेका सुमितलाई काजलका काकाले देखेपछि स्थिति तनावपूर्ण बनेको थियो। काकाले तत्कालै आफ्नो भतिज दीपेश मण्डललाई बोलाई दुवै जना मिलेर सुमितलाई कुटपिट गरेका थिए।

प्रहरी अनुसन्धानका अनुसार, कुटपिटपछि सुमितको हात पछाडि बाँधेर परमेश्वर मण्डलको मोटरसाइकलमा राखी औरही गाउँपालिका वडा नं. ६ चक्करस्थित एकान्त खेतमा पुर्‍याइएको थियो। त्यहाँ दीपेश मण्डलले आफूसँग रहेको धारिलो हतियारले सुमितको घाँटीमा पटक–पटक प्रहार गरी हत्या गरेको खुल्न आएको छ। सुमितको शव फागुन १४ गते दिउँसो सडकभन्दा करिब ३०० मिटर टाढा खेतमा फेला परेको थियो।

प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो हतियार र शव ओसार्न प्रयोग गरिएको मोटरसाइकलसमेत बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमका अनुसार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान कार्य भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *