प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको भ्रमण गरी चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिएकी छन् ।
प्रधानमन्त्री कार्कीले रुपन्देहीको बुटवलमा शनिबार बिहान लुम्बिनी प्रदेश तथा त्यसअन्तर्गतका विभिन्न जिल्लाका अधिकारीहरूसँग विस्तृत छलफल गरेकी हुन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, नेपाली सेनाको मध्यपश्चिम पृत्तनाका पृत्तनापति हिम्मतबहादुर विष्ट, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र खत्री, रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र पाल्पाका प्रमुख जिल्ला अधिकारी एवं अन्य सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख सचिव काप्री र पृत्तनापति विष्टले प्रदेशभित्र रहेका २६ वटै निर्वाचन क्षेत्रको अवस्था, चुनावको तयारी र सुरक्षाको योजनाका विषयमा प्रस्तुतीकरण दिएका थिए । अन्य सहभागीहरुले पनि आ–आफ्नो क्षेत्रको विवरण प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्री कार्कीले छोटो अवधिमा निकै मिहिनेत गरेर निर्वाचनको वातावरण बनाएको र सुरक्षाको योजना समेत तयार गरेकोमा सन्तोष व्यक्त गर्दै सम्बद्ध अधिकारीलाई धन्यवाद दिइन् ।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइन् । उनले निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वहरूको पहिचान गरी निर्वाचन केन्द्रित सुरक्षामा पूर्ण ध्यान दिन निर्देशन दिएकी छन् ।
प्रधानमन्त्री कार्कीले जनतामा जान नसक्ने केही व्यक्ति र समूहले आफ्नो अस्तित्व देखाउन पनि निर्वाचन बहिष्कारको हल्ला फैलाउने गरेको उल्लेख गर्दै यस्ता गतिविधिमाथि कडा निगरानी राख्न निर्देशन दिइन् ।
