नेपाल लाइफ इन्स्योरेन्सद्वारा नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलोपटक पृथक् विशेषतासहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

यो योजना ‘एकै योजना बहु–लाभ ! सबै नारीका लागि सजिलो पहुँच !’ नाराका साथ सार्वजनिक गरिएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अनुसार, यो महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्द्रित विशेष योजना हो । यस योजनाको मुख्य विशेषता भनेको बीमालेखको वार्षिकोत्सवमा बीमांकको आधारमा नगद सुविधा प्रदान गरिनु, वृद्धिशील मृत्यु लाभ, मृत्युमा प्रदान गरिने बीमांक रकम हरेक ५ वर्षमा २५ प्रतिशतले बढ्नु रहेको जनाइएको छ ।

नेपाली जीवन बीमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता पूरक करार सुविधासमेत समावेश गरिएको यस योजनाले नारीको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा एकैसाथ प्रदान गरी सुनिश्चित भविष्यको सुरुवात गर्ने सो कम्पनीले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भनेको छ, ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना नारीको जीवनमा सुरक्षा, आत्मनिर्भरता र भविष्यको सुनिश्चिततालाई केन्द्रमा राखी तयार गरिएको विशेष जीवन बीमा योजना हो । समानतासँगै सम्मानपूर्वक जीवनयापन गर्न सकून् भन्ने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलोपटक नारी लक्षित, महत्वपूर्ण ऐच्छिक सुविधाहरूसहित यो योजना सार्वजनिक गरेको हो । नारीवर्गमा समर्पित यस योजनाले नियमित आम्दानी, आर्थिक सुरक्षा तथा दीर्घकालीन आर्थिक सुनिश्चितता एकैसाथ प्रदान गर्दछ ।’

सो कम्पनीले अगाडि भनेको छ, ‘मातृत्व नारी जीवनको सबैभन्दा सुन्दर, महत्वपूर्ण र संवेदनशील समय हो । तर गर्भावस्थाको समयमा कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्या पनि आइपर्न सक्छ । समग्र नारीकै लागि बनेको योजना भएपछि उहाँहरूको लागि विशेषरूपमा लक्षित मातृत्व सुरक्षालाई ध्यानमा राखेर नेपाल लाइफले नेपाली जीवन बीमा जगतमै पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा ल्याएको हो ।’

गर्भावस्था जटिलतासम्बन्धी पूरक करार सुविधा अनुसार यदि गर्भावस्थाको समयमा यस पूरक करार भित्र पर्ने ११ वटा गम्भीर गर्भावस्थासम्बन्धी जटिलतामध्ये कुनै पनि जटिलता पुष्टि भएमा एकमुष्ट १ लाख रुपैयाँ तुरुन्तै उपलब्ध गराइने र गर्भावस्था स्याहारसम्बन्धी अतिरिक्त पूरक करार सुविधाअन्तर्गत बीमा अवधिभित्र यदि बीमित महिला गर्भवती भएको प्रमाणित भएमा गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य सेवाको लागि १ पटकका लागि एकमुष्ट १० हजार रुपैयाँ प्रदान गर्ने जनाइएको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) न्यूनतम बीमांक रकम २ लाख ५० हजार रुपैयाँ र अधिकतम बीमांक रकम आयस्रोतको आधारमा गर्न सकिने र यस योजनामा बीमितको प्रवेश उमेर १८ वर्षदेखि ६५ वर्ष रहने जनाइएको छ । यस योजनासँगै विभिन्न ऐच्छिक पूरक करार सुविधा पनि लिन सकिने भएको छ । जसमा दुर्घटना मृत्यु लाभ, पूर्ण स्थायी अशक्तता सुविधा र बीमाशुल्क छुट सुविधा पनि योजनासँगै लिन सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *