चेक बाउन्स मुद्दामा जेलमुक्त भए बलिउड अभिनेता राजपाल यादव

बलिउडका चर्चित अभिनेता राजपाल यादव चेक बाउन्स मुद्दामा दिल्लीको तिहाड जेलबाट रिहा भएका छन्।

उच्च अदालतबाट अन्तरिम जमानत पाएपछि मंगलबार रिहाईको कानुनी प्रक्रिया पूरा गरी उनी जेलबाट बाहिर आएका हुन्।

जेलबाट निस्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूमाथि लागेका सबै आरोपको जवाफ दिने बताएका छन्।

उनले अदालतलाई धन्यवाद दिँदै आफ्नो कठिन समयमा साथ दिने समर्थकहरूप्रति आभार व्यक्त गरे।

राजपालले सन् २०१० मा फिल्म ‘अता पता लापता’ बनाउन मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडबाट ५ करोड भारतीय रुपैयाँ ऋण लिएका थिए।

तर फिल्म फ्लप भएपछि उनी आर्थिक संकटमा परे र समयमै ऋण तिर्न सकेनन्।

ऋण लिने क्रममा उनले दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको थियो। यसअघि दुवै पक्षबिच सम्झौता भए पनि रकम भुक्तानी हुन सकेको थिएन, जसले गर्दा ब्याजसहित ऋणको भार थपिएको थियो।

यही मुद्दामा सन् २०१८ मा दिल्लीको कडकडडुमा अदालतले उनलाई ६ महिनाको जेल सजाय सुनाएको थियो।

सोही आदेश बमोजिम उनले गत फेब्रुअरी ५ मा तिहाड जेलमा आत्मसमर्पण गरेका थिए। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *