साफ महिला च्याम्पियनसिप : बाङ्गलादेशसँग पराजित भएसँगै बाहिरियो नेपाल

घरेलु टोली नेपाल पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ।

पोखरास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा आज (बुधबार) लिग चरणको अन्तिम खेलमा बाङ्गलादेशसँग ४-० गोलले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। नेपाललाई निराश पार्ने क्रममा बाङ्गलादेशले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो।

बाङ्गलादेशलाई जित दिलाउन अल्पी अख्तरले ह्याट्रिक गरिन्। खेल सुरु भएको तेस्रो मिनेटमै प्रोतिमा मुन्डाको गोलमार्फत अग्रता बनाएकामा पहिलो हाफको इन्जुरी समयमा अक्तरले अग्रता दोब्बर पारिन्।

नेपाल पहिलो हाफमा दुई गोलले पछि परेपछि दोस्रो हाफमा खेलमा फर्कन सङ्घर्ष गरिरहेको थियो। खेलको ६७औँ मिनेट र ८२ औँ मिनेटमा अख्तरले गोल गरेपछि बाङ्गलादेश फाइनलमा पुग्न सफल भयो। लिगका तीनवटै खेल जितेर शीर्ष स्थानमा रहन सफल भएको बाङ्गलादेशले अब प्रतियोगिताको उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ।

भारतले आजै भएको लिगचरणको पहिलो खेलमा भुटानलाई ८-० गोलले हराएको थियो। प्रतियोगितामा दुई जित र एक हार बेहोरेको भारत ६ अङ्क जोडेर फाइनल पुगेको हो। लिग चरणका शीर्ष दुई टोली भारत र बाङ्गलादेशकाबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको दुई खेलमा हार र एउटामा जित निकालेको नेपालले तीन अङ्क जोड्दा भुटानले भने अंक जोड्न सकेन। -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *