मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ अन्तर्गत पर्ने साङ्ता मतदानस्थल सार्न प्रस्ताव गरिएको छ।
स्थानीय तहको वडा कार्यालयले हिमपात र अत्यधिक चिसोको समस्या दर्शाउँदै साङ्ता मतदानस्थल सार्न प्रस्ताव गरेको हो। जोमसोमदेखि उत्तर–पश्चिमतर्फ मुस्ताङ–डोल्पा सडकअन्तर्गत सिमानामा पर्ने साङ्ता गाउँमा १३ घरधुरीको बसोबास रहेको छ।
२०७९ सालको निर्वाचनमा ३४ मतदाता रहेका थिए। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा साङ्ता गाउँमा ३९ मतदाता कायम भएका छन्।
मुस्ताङ र डोल्पाको सिमानामा पर्ने साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालयको मतदानस्थल सार्न सम्बन्धित निकायमा पत्राचार गरिएको वडा सदस्य छिरिङ पाल्साङ गुरुङले जानकारी दिए। हिमपात र अत्यधिक चिसोका कारण गाउँमा केही याकचौँरी हेर्ने गोठालाबाहेक कोही नभएको र गाउँका सबै नागरिक हिमपात र चिसो छल्न फल्याक धाकार्रजुङ, कागबेनी र जोमसोमलगायत स्थानमा आफन्तजनको घरमा बसेको वडा सदस्य पाल्साङले बताए। हिमपात र चिसोको जोखिम हुने भएकाले मतदानस्थल सार्न लिखित अनुरोध गरिएको उनले बताए।
मुस्ताङको पाक्लिङदेखि मुस्ताङ र डोल्पाको सिमानामा सडकको ट्र्याक खोलिएको भए पनि साङ्ता गाउँबाट याकखर्कसम्मको सडक चुनौतिपूर्ण र कष्टकर छ। समुन्द्री सतहको चार हजार ५०० मिटर माथिको उचाइबाट सडक विस्तार भएको साङ्ता गाउँ जाने मुस्ताङ–डोल्पा सडक एक महिनाअघिदेखि हिमपातले अवरुद्ध छ।
साङ्ता गाउँका नागरिक हिमपात र अत्यधिक चिसोका कारण जोमसोम आसपासका क्षेत्रमा झरेकाहरू गर्मीयाम सुरु भएपछि चैत–वैशाखमा मात्रै गाउँ फर्किने गर्छन्। त्यसैले मतदाताको आग्रहअनुसार वडा कार्यालयले जिल्ला सुरक्षा समिति, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई मतदानस्थल सार्न प्रस्ताव पठाएको हो।
कृषि र पशुपालन व्यवसायमा आश्रित साङ्ता गाउँका नागरिक बर्खायाममा सात महिना मात्रै गाउँमा बस्छन्। पहिले हिउँदयाममा जाडो छल्न गाउँ नजिककै पारिलो स्थान घोक भन्ने स्थानमा घुम्ती बासस्थान सार्ने गरेका भए पनि केही वर्षयता साङ्ता गाउँका नागरिक जोमसोम आसपासका क्षेत्रमा बस्न थालेका हुन्।
साङ्ता गाउँका केही मतदाता भने पोखरा, काठमाडौँमा झरेका छन्। मतदानका समयमा नागरिक गाउँ फर्किन असम्भव देखिएको वडा सदस्य पाल्साङको भनाइ छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले मुस्ताङको साङ्तास्थित हिमाली आधारभूत विद्यालयको मतदानस्थल सार्न वडा कार्यालयबाट प्रस्ताव आएको जानकारी दिए। ‘हिमपात र चिसोका कारण साङ्ता गाउँको मतदानस्थल सार्न हामीलाई प्राप्त भएको छ, उक्त पत्रका सम्बन्ध तत्काल कुनै छलफल भएको छैन,’ शर्माले भने, ‘हामी यहाँ बैठक बसेर उक्त प्रस्तावबारे छलफल गरी निर्णय लिन्छौँ, बैठकल प्रस्ताव उपयुक्त ठाने उक्त सिफारिससहित हामीले निर्वाचन आयोगमा पठाउँछौँ।’
निर्वाचनका लागि मतदान केन्द्र तथा मतदानस्थल हेरफेर, थपघट र स्थान्तरण गर्न आयोग मतदानस्थल तथा मतदान केन्द्र कार्यविधि २०८१ अनुसार उपयुक्त ठहरिएमा प्रस्ताव अनुमोदनका लागि आयोगमा सिफारिस गर्ने शर्माको भनाइ छ। (रासस)
