आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गतको पहिलो अभ्यास खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गरेको छ।
भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा १४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमै तीन विकेटको क्षतिमा १४८ रन बनाउँदै सहज जित निकालेको हो।
नेपालको जितमा उपकप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखको शानदार अर्धशतकीय साझेदारी निर्णायक बन्यो। दीपेन्द्रले ३१ बलमा ५० रन बनाए भने आरिफले ३७ बलमा ६१ रनको योगदान दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। यूएईका लागि सोएब खानले सर्वाधिक ३८ रन बनाए। त्यस्तै हर्सिद कौशिकले ३५, आर्सन शर्माले २५, मोहमद जोएबले १९ र अलिशान सरफुलेले १२ रन जोडे।
नेपालका बलरमध्ये करण केसी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले एक विकेट लिन सफल भए।
नेपालले आइसिसी टी–२० विश्वकपको तयारीअन्तर्गत आफ्नो दोस्रो तथा अन्तिम अभ्यास खेल बिहीबार क्यानाडासँग खेल्नेछ।
