सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित पिपिराचोकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ। कर्णाली प्रदेश ०२–००२ प ३२७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर–१३ निवासी ७० वर्षीया लक्ष्मी लामिछानेको मृत्यु भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी लामिछानेको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक लेकबेँसी नगरपालिका–३ का २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका छन्। उनको अहिले प्रदेश अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
