सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा मङ्गलबार साँझ हतियारधारी समूहले लुटपाट गरेको छ। बनेपातर्फबाट आएको टाटा सुमोमा सवार करिब पाँच जना नकाबधारी लुटेराहरूले बैंकमा प्रवेश गरी सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ।
लुटेराहरूले बैंकका सुरक्षागार्डलाई पेस्तोल देखाएर नियन्त्रणमा लिई हातखुट्टा बाँध्नुका साथै खुकुरी प्रहार गरी घाइते समेत बनाएका छन्। कर्मचारी र गार्डलाई नियन्त्रणमा लिएर संगठित रूपमा गरिएको यो डकैतीको घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ।
लुटपाटलगत्तै स्थानीयवासी र प्रहरीले गरेको संयुक्त प्रयासका कारण लुटपाटमा प्रयोग गरिएको बा ३ डी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेट भएको टाटा सुमो र त्यसका चालकलाई नियन्त्रणमा लिन सफलता मिलेको छ। घ्याङलेख गाउँपालिका–२ का वडा अध्यक्ष रोशन भ्लोनका अनुसार उक्त सवारी साधन गाउँपालिकाको वडा नम्बर १ स्थित टुनी भञ्ज्याङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
लुटेराहरूले भाग्ने क्रममा छाडेका दुई बोरा पैसा समेत बरामद गरिएको छ, तर उक्त बोरामा कति रकम छ भन्ने विषयमा यकिन गणना हुन बाँकी छ। हाल बरामद गरिएको सवारी साधन र रकम इलाका प्रहरी कार्यालय बस्तिपुरमा सुरक्षित राखिएको छ।
बैंक लुटपाटमा संलग्न अन्य लुटेराहरू भने नजिकैको जङ्गलतर्फ फरार भएकाले उनीहरूको खोजीका लागि प्रहरीले व्यापक रूपमा घेराबन्दी र खोजतलास अभियान जारी राखेको छ। हतियारसहित बैंक प्रवेश गरी कर्मचारीहरूलाई बन्धक बनाएर गरिएको यस बीभत्स घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ। घाइते सुरक्षागार्डको उपचार भइरहेको छ भने फरार अभियुक्तहरूलाई पक्राउ गर्न छिमेकी जिल्लाका नाकाहरूमा समेत कडा निगरानी बढाइएको छ।
