भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ नेपालीको मृत्यु

 भारतको हिमाचल प्रदेशको अर्की क्षेत्रमा भएको ग्यास सिलिन्डर विस्फोटले सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ टाकुरामा कहिल्यै नमेटिने पीडा छोडेको छ । एउटै गाउँका दुई परिवारका ९ जना सदस्यको एकैपटक निधन भएपछि यतिबेला पूरै गाउँ शोकमा डुबेको छ ।

सोमबार राति करिब २ बजेतिर उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा आगलागीसमेत भएको थियो । आगो यति भीषण थियो कि वरपरका घरहरू समेत क्षतिग्रस्त बने । दुर्भाग्यवश, सबैको घटनास्थलमै ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा, १० वर्षीया छोरी रेणुका र २२ महिनाको छोरा राजन रहेका छन् । यस्तै, अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु र ७ वर्षीय छोरा किरणको पनि दुःखद निधन भएको छ ।

वडा सदस्य लक्ष्मी विकका अनुसार ती परिवार विगत करिब दुई वर्षदेखि रोजगारीका लागि भारतमा मजदुरी गर्दै आएका थिए । “परिवारको भविष्य राम्रो बनाउने सपना बोकेर गएका दाजुभाइहरू यसरी अकालमै गुम्नुप¥यो, सोच्दा पनि मन भारी हुन्छ,” उनले भावुक हुँदै भनिन् ।

हालसम्म पाँच जनाको शव फेला परिसकेको छ भने बाँकीको खोजी कार्य जारी रहेको जनाइएको छ । विस्फोटपछि शवहरू छरिएका कारण सबैको औपचारिक पहिचान प्रक्रिया अझै पूरा हुन सकेको छैन । स्थानीय प्रशासन र सुरक्षाकर्मीले उद्धार तथा अनुसन्धानलाई निरन्तरता दिएका छन् ।

एकै गाउँका ९ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ का घर–घरमा शोक छाएको छ । आफन्तहरू आँसु थाम्न सकेका छैनन् भने छिमेकीहरू पनि यो घटनाले स्तब्ध बनेका छन् ।

वडा अध्यक्ष मेकराज बुढाथोकीका अनुसार घटनाप्रति श्रद्धाञ्जली अर्पण गर्न मंगलबार वडा स्तरीय शोक सभा आयोजना गरिनेछ । साथै वडा कार्यालयसहित सम्बन्धित सरकारी कार्यालयहरूमा शोक बिदा दिने निर्णयसमेत गरिएको छ ।

“रोजगारी गरेर परिवार पाल्ने सपना बोकेर विदेश गएका नागरिकहरू यसरी ज्यान गुमाउनु अत्यन्त दुःखद छ,” उनले भने, “यो पीडा शब्दमा व्यक्त गर्न सकिँदैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *