पूर्वमन्त्री तथा कांग्रेस नेता दाहालको सम्मानमा कांग्रेसले तीन दिन झन्डा झुकाउने

केन्द्रीय कार्यसमिति बैठकले दाहालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै परिवारजन र आफन्तप्रति समवेदना व्यक्त गरेको छ ।
कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, प्रवक्ता, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहाल सम्मानमा तीन दिन (पुस २६, २७ र २८) पार्टीको झन्डा झुकाउने निर्णय गरेको छ । 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको हो । पुस २७ गते सबै कार्यालय बन्द गरिने र स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिने पनि निर्णय गरिएको छ । साथै, सम्बन्धित जिल्ला ओखलढुङ्गामा १३ औं दिन शोक सभाको आयोजना गरिनेछ ।

दाहालको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन भएको थियो । केन्द्रीय कार्यसमितिले उनको निधनप्रति शोक प्रस्ताव पारित गर्दै परिवारजन र आफन्तप्रति समवेदना व्यक्त गरेको छ ।

दाहाल नेपाल पत्रकार महासंघका पूर्व सभापति, राष्ट्रियपुरस्कार साप्ताहिकका सम्पादक तथा प्रकाशक र गोरखापत्र संस्थानका पूर्वअध्यक्ष थिए । लोकतान्त्रिक आन्दोलनमा उनको योगदान स्मरणीय रहेको छ । उनले पटक–पटक जेल जीवन बिताएका थिए र २०५६ सालको आम निर्वाचनमा ओखलढुङ्गा जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *