राष्ट्रिय सभा निर्वाचनका लागि मधेशबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । उनलाई जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थन रहेको छ ।
बुधबार जनकपुरस्थित निर्वाचन कार्यालय पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । उनी महोत्तरी क्षेत्र नं. ३ बाट दुई पटक प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव जितेका थिए ।
नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच भएको तालमेलपछि जसपा नेपालले महन्थलाई अघि सारेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच १४ पुसमा एकता गर्ने निर्णय भएको थियो । दुवै दलबीच एकता भएपछि जसपा नेपालले ठाकुरलाई उम्मेदवार बनाएको हो । जसपा नेपालसँग एकता हुनुअघि ठाकुर लोसपाका अध्यक्ष थिए।
