नाइमाको समन्वयमा हाइब्रिड सवारी साधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) को समन्वयमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी एकदिने हाइब्रिड (भौतिक तथा भर्चुअल) प्राविधिक तालिम काठमाडौंमा सम्पन्न भएको छ।

विश्वव्यापी अटोमोबाइल ब्रान्ड टोयोटाका लागि नेपालको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. को प्राविधिक सहयोगमा काठमाडौंस्थित केन्द्रीय कार्यालयमा उक्त तालिम आयोजना गरिएको हो।

तालिममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि कलेजका डिप्लोमा तह पाँचौं सेमेस्टरका विद्यार्थीहरू, ट्राफिक चालक तथा अन्य सरोकारवालासहित २५ भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई हाइब्रिड सवारीसाधन प्रविधिको आधारभूत संरचना, कार्यप्रणाली, सुरक्षा मापदण्ड तथा मर्मतसम्भार सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिएको थियो।

यसअघि सहभागीहरूले गत चैत महिनामा लक्ष्मी हुन्डाईद्वारा आयोजित तीनदिने विद्युतिय सवारीसाधन (ईभी) सम्बन्धी तालिममा समेत सहभागिता जनाएका थिए। साथै, नाइमा मोबिलिटी संवाद कार्यक्रममा पनि सहभागी भई उनीहरूले नीतिगत तथा प्राविधिक विषयमा थप जानकारी हासिल गरेका थिए। यसरी विद्युतियदेखि हाइब्रिड प्रविधिसम्मको ज्ञानलाई चरणबद्ध रूपमा अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको नाइमाले जनाएको छ।

कार्यक्रममा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले यस्ता तालिम कार्यक्रमहरूले प्राविधिक शिक्षा र विद्यार्थीहरूको सीप तथा क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले माग र उपलब्ध स्रोतका आधारमा यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने जानकारी पनि दिए।

त्यसैगरी, सीटीइभीटीका उपनिर्देशक खुशीराम अधिकारीले हाइब्रिड सवारीसाधनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने विषयलाई प्राथमिकतामा राखिने र आवश्यक प्रक्रिया अघि बढाइने बताए। नेपालजस्तो विविध भौगोलिक अवस्थायुक्त मुलुकमा यस्ता सवारीसाधनको सान्दर्भिकता बढ्दै गएको उनले उल्लेख गरे।

बालाजु इञ्जिनियरिङ तथा प्रविधि कलेजका उपप्राचार्य प्रदीप न्यौपानेले नाइमाको पहलको प्रशंसा गर्दै दक्ष जनशक्ति उत्पादनका लागि अटोमोबाइल उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे। उनले हालै सम्पन्न विद्युतिय सवारीसाधनसम्बन्धी तालिमले विद्यार्थीहरूको व्यवहारिक सिकाइमा सकारात्मक प्रभाव पारेको बताए।

समापन सत्रमा वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेजका निर्देशक सूर्यांश वैद्यले यस्ता व्यावहारिक तालिमहरूले सहभागीहरूको पेशागत विकासमा टेवा पुर्‍याउनुका साथै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे। उनले हाइब्रिड सवारीसाधनलाई उन्नत प्रविधिको रूपमा उल्लेख गर्दै यस क्षेत्रमा थप प्राविधिक ज्ञान र सीप विकास आवश्यक रहेको बताए।

उक्त तालिम शृङ्खलाअन्तर्गत हाइब्रिड सवारीसाधनसम्बन्धी प्रशिक्षण टोयोटाका प्राविधिक विज्ञहरूद्वारा प्रदान गरिएको थियो भने विद्युतिय सवारीसाधनसम्बन्धी तालिम लक्ष्मी हुन्डाईका विशेषज्ञहरूले सञ्चालन गरेका थिए। तालिमले सहभागीहरूलाई दुवै प्रविधिमा आधारभूत तथा व्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

नाइमाले आफ्ना प्राविधिक समितिहरू तथा सचिवालयमार्फत क्षमता अभिवृद्धि र प्राविधिक संवादलाई प्राथमिकतामा राख्दै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकासका लागि यस्ता पहलहरूलाई निरन्तर अघि बढाउँदै आएको छ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.