नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले काठमाडौं व्यापार महोत्सव २०८२ आयोजना गर्ने भएको छ ।
आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराइएको हो । मेला आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुनेछ ।
काठमाडौं बिजनेस एक्स्पो २०२६ व्यापार–व्यवसायको उत्थान, कला–संस्कृति तथा पर्यटन प्रवद्र्धनः समृद्ध काठमाडौं हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजना हुन लागेको आयोजकको भनाइ छ ।
संघका अध्यक्ष दिनेश श्रेष्ठले महोत्सवमा करिव २ सय भन्दा बढी व्यवसायिक स्टलहरू रहने र स्थानीय उत्पादन, हस्तकला, खाना, प्रविधि तथा विभिन्न सेवा प्रदर्शनीमा राखिने बताए ।
महोत्सवले काठमाडौं जिल्लाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार महोत्सवमा नेपालका साथै भारत र बंगलादेशका विशेष उत्पादनहरू पनि प्रदर्शनीमा रहनेछन् । यसले अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता हुने अनुमान गरिएको छ ।
अवलोकनकर्तामा सर्वसाधारण, उद्यमी–व्यवसायी, युवा उद्यमी, विद्यार्थी, स्टार्टअपहरू, पर्यटक, फुड लभर्स तथा कला–संस्कृति पारखीहरूको उल्लेखनीय उपस्थिति रहने आयोजकको भनाइ छ । महोत्सव दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।
