काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँको ऐतिहासिक बजार असनलाई जीवन्त सङ्ग्रहालयका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएकी छन् ।
शनिवार असनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले असन र वरपरका ऐतिहासिक क्षेत्रहरू केवल व्यापारिक केन्द्र मात्र नभई हाम्रो इतिहास, पहिचान र संस्कृतिको धरोहर भएको बताएकी हुन् ।
असनको महत्वलाई जोगाउँदै यसलाई थप व्यवस्थित र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न काठमाडौँ महानगरपालिकाले विभिन्न पहल थालेको जानकारी दिइन् ।
डंगोलले शहर सधैँ गाडीका लागि मात्र नभई हिँडेर सहरी र सांस्कृतिक सुन्दरतालाई महसुस गर्न चाहने सर्वसाधारणका लागि पनि हुनुपर्ने धारणा राखिन् । उनले ‘भेहिकल फ्रि सटरडे’ (गाडीरहित शनिवार) को अवधारणाको उद्देश्य शहरलाई शान्त बनाएर स्थानीय उपभोक्ता र पर्यटकलाई आनन्दसँग हिँडडुल गर्न दिने वातावरण सिर्जना गर्नु रहेको स्पष्ट पारिन् ।
परम्परागत सहरको मर्म र मौलिकता बिस्तारै लोप हुँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरिन् । हाल वडा नं. २७ बाट सुरु भएको यो अभियान वडा नं. २५ हुँदै क्रमशः २४, २३ र २२ वडासम्म विस्तार गरिने योजना महानगरले राखेको छ । साथै, असन वा यस वरपरका क्षेत्रमा कुन स्थानमा कुन ऐतिहासिक वा सांस्कृतिक महत्त्वको वस्तु वा स्थल छ भन्ने जानकारी दिन ‘इन्भेन्टरी’ वा ‘म्याप’ बनाउने गृहकार्य पनि महानगरले अगाडि बढाउने उनले बताइन् ।
डंगोलले भनिन् ‘असन गाडी, मोटरसाइकल र स्कुटर गुडाउने ठाउँ मात्र होइन। यो हाम्रो बाजे–बज्यैको कथा सुन्ने, साना नानीबाबुहरूले खेल्ने र समाजको सम्बन्ध जोड्ने ठाउँ हो । असन, जनबहाल, मरू लगायतका क्षेत्रमा जोडिएका पारम्परिक पसल र संस्कृतिहरू फेन्सी पसलहरूको बढ्दो प्रभावले विस्थापित हुँदैछन्। यसलाई पुनः स्थापना गरी जीवन्त बनाउनु अहिलेको आवश्यकता हो । महानगरले नेतृत्व त लिएको छ, तर यसको सफलता स्थानीय समुदायको सक्रिय सहभागितामा मात्र सम्भव छ ,। हेरिटेज साइटमा घर हुनु भनेको सजाय होइन, गौरवको कुरा हो । तसर्थ, यहाँका बासिन्दाले पनि यसबाट फाइदा लिन सक्ने वातावरण हामी सिर्जना गर्दै जानेछौँ ।’
डंगोलले असनलाई बुझ्न र यहाँको मूल्य–मान्यतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सपरिवार आउन, डबलीमा बस्न र स्थानीय इतिहासका कथा सुन्न सबै नगरवासीलाई आह्वान पनि गरेकी छन् ।
