दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्स बुधबार हुन लागेको आफ्नो वार्षिक ग्यालेक्सी अनप्याक्ड समारोहमा नयाँ फ्ल्यागशिप स्मार्टफोन सिरिज सार्वजनिक गर्ने तयारीमा छ ।
कार्यक्रम अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली समयअनुसार राति सुरु हुनेछ । कम्पनीले यसपटक सामसङ ग्यालेक्सी एस२६ अल्ट्रासहित ग्यालेक्सी एस२६ र एस२६ प्लस पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रम सामसङको आधिकारिक वेबसाइट र युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । सामान्यतया एक घण्टा जति चल्ने अनप्याक्ड कार्यक्रममा अन्त्यतिर ‘सप्राइज’ टिजर पनि देखाइन्छ ।
विभिन्न रिपोर्टहरूका अनुसार कम्पनीले यस वर्ष पनि आफ्नो परम्परागत तीन मोडल रणनीति कायम राख्नेछ र ग्यालेक्सी एस२६, एस२६ प्लस र एस२६ अल्ट्रा सार्वजनिक गर्नेछ । यसअघि ‘प्रो’ ब्रान्ड ल्याउने र प्लस मोडल हटाउने हल्ला चले पनि कोरियाली मिडियाले ती योजना त्यागिएको जनाएको छ । सम्भावित एस२६ एज मोडल भने अनिश्चित अवस्थामा रहेको बताइन्छ ।
डिजाइनमा परिवर्तन
लिकहरू अनुसार ग्यालेक्सी एस२६ अल्ट्राको डिजाइन अघिल्लो पुस्तासँग मिल्दोजुल्दो रहनेछ । केही स्रोतले क्यामेरा बम्प सामसङ ग्यालेक्सी जेड फोल्ड७ जस्तै हुन सक्ने बताएका छन् भने अन्य रिपोर्टले सपाट डिजाइन नै कायम रहने दाबी गरेका छन् । यसले आधिकारिक घोषणा नआउँदासम्म डिजाइनबारे अन्योल कायम छ । रङ विकल्पतर्फ कालो, सेतो, शिल्भर श्याडो, स्काई ब्लु, कोबाल्ट भेल्भेट र पिङ्क गोल्ड उपलब्ध हुने सम्भावना छ, जुन कम्पनीको प्रिमियम लाइनअपसँग मेल खान्छ ।
शक्तिशाली प्रोसेसर र धेरै क्षमताको र्याम
ग्यालेक्सी एस२६ शृंखलामा क्वालकमकोे नयाँ स्न्यापड्र्यागन८ एलाइट जेन५ चिप प्रयोग हुने व्यापक चर्चा छ । केही क्षेत्रमा भने सामसङकै एक्जिनोस २६०० चिप प्रयोग हुन सक्ने रिपोर्ट पनि आएका छन् । सबै मोडलमा १६जीबी र्याम उपलब्ध हुने हल्लाले विशेष चासो बढाएको छ । यदि यो साँच्चै भयो भने हालका वर्षहरूमा ग्यालेक्सी फोनमा देखिएको सबैभन्दा उच्च र्याम कन्फिगरेसन हुनेछ । स्टोरेज विकल्प भने प्रायः यथावत रहने अपेक्षा गरिएको छ– अर्थात् साधारण मोडलमा १२८ जीबी र अल्ट्रा मोडलमा २५६ जीबी बेस भेरियन्ट ।
ब्याट्रीमा ठूलो सुधारको सम्भावना
यस वर्षको सबैभन्दा ठूलो अपग्रेड ब्याट्रीमा हुन सक्ने अनुमान छ । सामसङले ‘स्ट्याक्ड ब्याट्री’ प्रविधि प्रयोग गरेर क्षमतामा वृद्धि गर्ने तयारी गरेको बताइन्छ ।
ग्यालेक्सी ए२६ अल्ट्रामा करिब ५,५००एमएएच
बेस ग्यालेक्सी एस२६ मा करिब ४,३०० एमएएच
यसले आकार नबढाई ब्याट्री लाइफ सुधार गर्ने लक्ष्य गरिएको छ । केही रिपोर्टले ठूलो ब्याट्री अटाउन सामसङले क्यामेरा सेन्सर घटाउने परीक्षणसमेत गरेको दाबी गरेका छन् । तर अन्तिम डिजाइन अझै पुष्टि भएको छैन ।
एआई र गोपनीयतासम्बन्धी नयाँ फिचर
सामसङले नयाँ ‘प्राइभेसी डिस्प्ले’ फिचरको टिजर दिइसकेको छ, जसले हार्डवेयर र सफ्टवेयर संयोजनमार्फत स्क्रिन सुरक्षा बलियो बनाउने बताइएको छ । साथै, उन्नत ग्यालेक्सी एआई फिचरहरू पनि केन्द्रमा रहने अपेक्षा गरिएको छ । कम्पनीले हालै पर्पेल्क्सिटी एआईको ‘हे प्लेक्स’ सहायकलाई आफ्ना ग्यालेक्सी उपकरणमा एकीकृत गर्ने घोषणा गरेको थियो । यसले सामसङको आफ्नै बिक्सबाई र गूगल जेमिनाईसँगै काम गर्नेछ ।
सामसङको पुरानो ढाँचा अनुसार कार्यक्रम सकिएलगत्तै वा भोलिपल्टबाट प्रि–अर्डर खुल्न सक्छ । मूल्यबारे आधिकारिक जानकारी आउन बाँकी भए पनि अल्ट्रा मोडल प्रिमियम सेग्मेन्टमै रहने अनुमान गरिएको छ । आजको ग्यालेक्सी अनप्याक्डपछि ग्यालेक्सी एस२६ शृंखलाका वास्तविक स्पेसिफिकेसन, मूल्य र उपलब्धताबारे स्पष्ट तस्वीर आउनेछ । स्मार्टफोन बजारमा प्रतिस्पर्धा चर्किरहेका बेला सामसङको नयाँ फ्ल्यागशिपले कस्तो प्रभाव पार्छ भन्ने चाहिँ हेर्न बाँकी नै छ ।
