नक्कली महको धन्दा, मैदाबाट ‘चाका

२६ असोज, काठमाडौं । गोङ्गबु मित्रनगर होटल रेड डाइमण्डमा नक्कली मह र त्यस्तो पदार्थ बनाउने सामान फेला परेको छ । होटलको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउन प्रयोग हुने सामान फेला परेको हो ।

काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली होटलमा पुग्दा व्यापारी मह बेच्न बाहिर गएका थिए । होटल सञ्चालकले आफूसँग व्यापारीको सम्पर्क फोन नम्बर नभएको बताए ।

अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ । अहिले २ जना व्यापारी सम्पर्कमा आएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाइने भएको छ ।

होटल सञ्चालक लिलाबल्लभ पराजुलीकाअनुसार उनीहरुमध्ये असोज २० गते २ जना आएर कोठा लिएर बस्न थालेका थिए । २२ गते ४ जना थपिएका थिए । हिजो आइतबार अरु ६ जना आएर थपिए । होटल सञ्चालकका अनुसार उनीहरुले आफूलाई मह व्यापारीका रुपमा चिनाएका थिए । उनीहरु दिउँसो मह बेच्न जाने र बेलुका फर्किने गरेका छन् ।

होटलका अनुसार यसअघि २०७६ को पुष-माघ महिनामा आएर व्यापार गरेर फर्केका थिए ।

होटलमा उनीहरुको नाम थर भएको कुनै विवरण छैन । सञ्चालक भन्छन्-‘पहिले पनि आउने जाने गरेकाले परिचय पत्र खोजेनौं । उनीहरु महोत्तरीतिरका हुन् ।’

अनुगमन टोलीको नेतृत्व गरेका महानगरको कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीकाअनुसार महको चाका मैदाको हुन सक्छ । ‘अन्य रसायन के के प्रयोग गरेका छन्, अध्ययन हुँदैछ,’ उनले भने ।

अनुगमन टोलीले होटलका ३ वटा कोठामा भएका सामान बटुलेर एउटै कोठामा ताला लगाएको छ । त्यहाँ ९ किलो १८६ ग्रामका २८ पोका सामान र १३ टिन माहुरीको चाका छ । यस्तै अन्य सानातिना धेरै पोका छन् ।

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्छन्,’यो सक्कली मह हुँदै होइन । लेवलबिनाका सामान बेच्नु सरासर गैरकानूनी हो ।’

होटलका कर्मचारीले एउटा पोको खोलेर देखाए । त्यहाँ भएको बाक्लो र च्याप-च्याप हुने तरल पदार्थमा चाका डुवाइएको थियो ।  नक्कली मह कारोवार सम्बन्धी थप अनुसन्धान भइरहेको महानगरपालिकाले जनाएको छ । साभार अनलाइन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *