बरामद गरिएको प्याज खरिद मूल्यमै सर्वसाधारणलाई विक्री गर्ने

काठमाण्डौ,असोज ७ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विक्री वितरण गर्ने भएको छ ।

काठमाडौं उपत्यकाका तरकारी बजारमा प्याजमा कालोबजारी भएको भन्दै बजार अनुगमन गर्दा उक्त स्थानमा लुकाएर राखिएको भेटेपछि प्रहरी प्रशासनको सहयोगमा प्याज बरामद गरी पसलका सञ्चालकलाई नियन्त्रणमा लिइएको थियो ।

बरामद गरिएको प्याज लामो समयसम्म राख्दा कुहिने सम्भावना धेरै भएपछि मंगलवार साँझ उद्योग मन्त्रालयमा भएको छलफलले खाद्य कम्पनीलाई विक्रीको जिम्मा दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयअनुसार विभागले प्याज विक्रीको जिम्मा कम्पनीलाई दिएको हो ।

व्यापारीले रू. ५२ प्रतिकिलोका दरले प्याज किनेको भेटेपछि सोही मूल्यमा कम्पनीलाई विक्रीको जिम्मा दिइएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।उनका अनुसार मन्त्रालयमा भएको निर्णयअनुसार नै व्यापारीले किनेको मूल्यमा नै कम्पनीलाई विक्रीको जिम्मा दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *