गाडी चलाएरै छाड्छौं, बरु गोली थाप्छौं ।

पोखरा साेमबार, २९ भदौ २०७७ , : कोरोना महामारीका कारण झन्डै ६ महिना ठप्प सार्वजनिक यातायात सञ्चालन गर्न पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले तयारी थालेको छ ।

सरकारले यातायात सञ्चालनबारे आधिकारिक निर्णय सार्वजनिक नगर्दै असोज १ गतेबाट बस गुडाउने तयारीमा कम्पनीमा जुटेको छ । त्यसकै पूर्वसन्ध्यामा कम्पनीले आइतबार पोखरामा कोरोना नियन्त्रणका लागि सवारी डिस्इन्फेक्सन गरेर डेमो देखाएको छ ।

देशभरि सार्वजनिक यातायात सञ्चालको सञ्जाल फैलाएको पृथ्वीले आफ्ना १ हजार ४ सय व्यवसायीलाई तयार रहनसमेत निर्देशन गरिसकेको छ । पहिलो चरणमा जोरबिजोर वा रुटमा मागअनुसारको सम्भाव्यतालाई अध्ययन गरेर सडकमा सवारी उतार्ने तयारी कम्पनीको छ ।

यात्रुले सुरक्षित महसुस गरुन् साथै, भाइरस जोखिमलाई न्यूनीकरण गर्ने हेतुले सवारी डिस्इन्फेक्सनको कन्सेप्टमा सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

यातायातबाट गुजारा गर्नेहरुको पेट पाल्नकै लागि असोज १ गतेबाट सवारी सञ्चालन गर्न बाध्य भएको उनले बताए । ‘लामो समयदेखिको यातायात सञ्चालनमा सरकारले अन्योलको परिस्थिति सिर्जना गरिरहेको अवस्था छ,’ उनले भने, ‘सवारी नगुडे पेटमा अन्नपानीसम्म नपर्ने स्थितिको सामाना लाखौं मजदुर, व्यवसायी गरिरहेका छन् । अब यसरी सधैं सकिँदैन भन्ने सन्देशसहित सरकारलाई घच्घचाउन खोजेका हौं ।’

रातो प्लेटका गाडी चल्दा कोरोना नसर्ने तर कालो प्लेटका सवारी चल्दा कोरोना सर्ने मान्यता सरकारले राख्नु उचित नभएको अध्यक्ष केसीको भनाइ छ ।

छिमेकी राष्ट्र भारतमा मेट्रो ट्रेन लगायतका सबै यातायातका साधन चल्दा समस्या नहुने । हाम्रो राज्यमा मात्रै समस्या हुने ?,’ उनले सरकारी संयन्त्रलाई प्रश्न गर्दै भने, ‘कि सबै पेशा व्यवसाय बन्द गर्नुप¥यो । हामी यातायातलाई मात्र सञ्चालन गर्न नदिने कारण के छ ? आन्तरिक रुट(जिल्लाभित्र)मा कालोप्लेटका चल्न पाउने । तर, लामो दुरीका चल्न नपाउने भन्ने हुन्छ ?’

सरकारको विभेदपूर्ण पद्दतिले व्यवसायी मारमा परेको उनले बताए । राज्यले उचित राहतको व्यवस्थापन नगर्दा र व्यवसाय सञ्चालन गर्न नदिने अडानले लाखौं मजदुर प्रताडित भएको उनले बताए ।

यातायात व्यवस्था कार्यालयले सवारी नचलेको समयमा पनि नवीकरण, जाँचपासमा लिइरहेको जरिवानाप्रति व्यवसायीको आपत्ति छ । सवारी बिमाको सन्दर्भमा पनि १ वर्षमध्ये ६ महिना सञ्चालन नभएरै कोल्याप्स हुने अवस्था आएकाले राज्यले चासो दिनुपर्ने उनीहरुको माग छ ।

यातायातका विविध समस्यामा राज्यले सोच्नै सकेन । अब राज्यले गोली हान्छ भने गोली खान तयार । हामी गिरफ्तारी दिन पनि तयार,’ पृथ्वी राजमार्गका अध्यक्ष केसीले भने, ‘देशभरका सबै कम्पनीसँग मौखिक छलफल भएको छ । हामी सबै सवारी निकाल्छौं । जहाँनेर नेपाल सरकारले, प्रहरीले रोक्छ त्यहीँ गाडी हामी छाड्दिन्छौं ।’

यातायात सञ्चालनका क्रममा अवरोध आए जिल्ला प्रशासन कार्यालय अगाडि गएर टेन्ट गाँडेर बस्ने तयारीसम्म पुगेको उनले बताए ।

पृथ्वीले पोखराबाट सञ्चालन गर्ने रुटमध्ये लामोदुरीमा काँकडभिट्टा र महेन्द्रनगर पर्छ । यी रुटमा सामान्य समयमा औसत ७ वटासम्म गाडी छुट्थे ।

तत्काललाई काँकडभिट्टा २ र महेन्द्रनगरका लागि एउटा गाडी छुटाउने तयारी कम्पनीको छ । सरकारले जारी गरेको स्वास्थ्य मादपण्डलाई ख्याल गरेर सवारी चलाइने अध्यक्ष केसीले बताए । यात्रुहरुलाई अनावश्यक यात्रा नगर्न कम्पनीले आग्रह गरेको छ ।

‘२ सिटमा १ जना राख्छौं । ५० प्रतिशत भाडा बढी लिन्छौं । मास्क, स्यानिटाइजर अनिवार्य हुन्छ । सवारी डिस्इन्फेक्सन गर्ने कुरा हाम्रो दायित्व हो गर्छौं,’ अध्यक्ष केसीले भने । काठमाडौं, नारायणगढ र सुनौली रुटमासमेत गाडी चल्ने भएको कम्पनीले जनाएको छ

कोरोनाका कारणले भन्दापनि मजदुर, व्यवसायी भोकको कारणले मर्नुपर्ने अवस्था आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष एनकुमार साईले बताए ।

‘हाम्रा गाडीहरुले कोरोना ल्याउँछ भन्ने मान्यता राखिरहँदा गाडी नै नचल्दा त झन् पुरै नियन्त्रण हुनुपर्ने हो नि,’ उनले भने, ‘यातायात सम्बद्ध मजदुर व्यवसायीको भोको पेट नदेखी यो क्षेत्रलाई मात्र चल्न नदिन भइरहेका सरकार निर्णय विरुद्ध जान बाध्य भएका हौं ।

सरकारले चल्न नदिने भए यातायात व्यवसायसँग निर्भर मजदुर, व्यवसायीहरुलाई राहत प्याकेज दिनुपर्ने उनको भनाइ छ । मुनाफा कमाउन नभई यातायातबाट आश्रित परिवारलाई जोगाउन गाडी गुडाइने महासंघका केन्द्रीय उपाध्यक्ष साईले बताए । साभार – समाधान दैनीक