पर्वतको जलजलामा कृषि बजार सञ्चालन

लक्ष्मण सापकाेटा पर्वत – कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले जलजला–७ सल्यानका बालकृष्ण आचार्यले उत्पादित तरकारी विक्री नहुँदा बारीमै कुहाउनुुप¥यो । १० टन तरकारी बारीमै कुहिएपछि ट्र्याक्टर लगाएर पुरेको घटना आचार्यको मस्तिष्कमा ताजै छ । उनी जस्तै देवी आचार्य, एकनारायण पौडेल, दयालु गिरी, सागर आचार्य लगायत किसानको उत्पादन बारीमै कुहिएर नष्ट भयो । नजिकै बजार भए पनि स्थानीयले विक्रीका लागि लैजान सकेनन् ।
यो कोरोनाको महामारीले निम्त्याएको समस्या हो । तर गाउँमा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने कृषकले वर्षेनि भोग्दै आएको समस्या भने बजारको अभाव र मूल्यमा बिचौलिया हावी हुनु हो ।
आफ्नो उत्पादन सहजै बजार पठाउन नसक्दा गाउँमा आउने बिचौलियालाई कौडीको भाउमा बेच्नुपर्ने बाध्यता किसानहरूको छ । उनीहरूको यिनै समस्या समाधानका लागि हालै जलजला–७ मिलनचोकमा कृषि बजार सञ्चालनमा ल्याइएको छ, जुन कृषककै पहल र लगानीमा सञ्चालन गरिएको हो । कृषि बजार सञ्चालनमा आएसँगै कृषकको उत्पादन बारीमै कुहिने र बिचौलियाले फाइदा लिने प्रवृत्ति रोकिने अपेक्षा गरिएको छ ।

‘अब गाउँको उत्पादन सहजै विक्री हुने भयो,’ किसान एकनारायण पौडेलले भने, ‘बजार नपाएर भैंसीलाई खुवाउनुपर्ने तरकारीले पनि उचित मूल्य पाउँछ ।’ उत्पादनले बजार नपाउँदा कृषकहरूको लगानी खेर जाने गरेको थियो । कृषि बजार बनेपछि किसानले ढुवानीमा गर्ने खर्च पनि हट्नेछ ।

बुधवारदेखि कृषकको उत्पादन बजारमा संकलन गर्न थालिएको छ । कृषकको उत्पादन गाउँबाट बजारसम्म ल्याउने, भण्डारण गर्ने, बेलाबेलामा तालीम तथा परामर्श सेवा दिनेगरी बजार सञ्चालनमा ल्याइएको जलजला कृषक समूहका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । कृषि निर्देशनालय पोखराको २७ लाख, जलजला गाउँपालिकाको १५ लाख रुपैयाँ र स्थानीय किसानको ४२ लाख गरी कुल ८० लाख लागतमा कृषि बजार स्थापना गरिएको आचार्यले जानकारी बताए । ‘किसानको समस्या समाधानका लागि संकलन केन्द्र बनाइएको हो, उनले भने ।

अध्यक्ष आचार्यका अनुसार गाउँ गाउँबाट तरकारी र खाद्यान्न संकलन गर्न र बजार पठाउन एउटा गाडीको समेत व्यवस्था गरिएको छ । बजारसम्म ढुवानीमा लाग्ने लागत र समयलाई ध्यानमा राखेर ठाउँ ठाउँमा गाडी पठाएर उत्पादन बजारसम्म झार्न थालिएको छ । शालिजा, धाइरिङ, नाग्लीवाङ, लेकफाँट तरकारी र दूध उत्पादनको पकेट क्षेत्र हुन् । यहाँका ६५ प्रतिशत बासिन्दा तरकारी खेतीबाटै आर्थिक रूपमा आत्मनिर्भर छन् ।

संकलन केन्द्र नहुँदा किसानले बजार डुलेर तरकारी बेच्नुपर्ने बाध्यता थियो । कतिपयका बारीमै तरकारी र खाद्यान्नको ठेक्का लिन व्यापारी आउने गरेका थिए । गाउँभरि एउटै भाउ थिएन । अब कृषि उपज संकलन केन्द्रले मूल्यमा एकरूपता हुनेगरी तरकारीसहित अन्य कृषि उपज संकलन गर्ने कृषक सागर आचार्यले बताए ।

‘गाउँको उत्पादन गाउँमै कुहिने र बजार नपाउने समस्या अब हुँदैन । बिचौलियाको मारमा किसान पर्दैनन्,’ उनले भने, ‘बर्खामा गाडी नपुगेर भैंसीलाई तरकारी ख्वाउने समस्या पनि अबका दिनमा हुनेछैन ।’ स्थानीय किसानको उत्साहमा थप उत्साह भर्न कृषि ज्ञान केन्द्रले प्रविधि र यान्त्रिक उपकरणमा सहयोग गर्दै आएको छ भने गाउँपालिकाले पनि टनेल, सिँचाइ र प्राविधिक सरसल्लाह उपलब्ध गराउँदै आएको छ ।

संकलन केन्द्रमा संकलन हुने तरकारी विक्रीक लागि पर्वतको कुश्मा, म्याग्दीको बेनीबजार, बागलुङ, पोखरा र काठमाडौं समेत लगिने बताइएको छ । गाउँपालिकाले सबै गाउँमा पुग्ने सडक बनाएकाले कृषि उपज संकलन केन्द्रसम्म ढुवानीमा सहज भएको स्थानीय बाबुराम शर्माले बताए ।