पर्वतमा टुट्टा किराको प्रकोपले तरकारीमा ठुलो नोक्सानी

पर्वत –  पर्वतका व्यावसायिक कृषकहरुले लगाएको खेतीवालीमा टुट्टा नामक किराको प्रकोप बढेको छ ।
खुल्ला ठाउँमा र प्लाष्टिक टनेल गरी दुबै किसिमका स्थानमा लगाएको व्यावसायिक तरकारी खेतीमा टुट्टा किराको आक्रमण फैलिन थालेपछि किसानहरु समस्यामा परेका छन् । मौसममा आएको खराबीका कारण बिशेष गरी गोलभेँडामा यो किराको संक्रमण बढेको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ ।
जिल्लाको कुश्मा नगरपालिका ११ पकुवा, जलजला गाउँपालिका ७ धाईरिङ, ८ नाग्लीवाङ, फर्से लगायतका स्थानमा रहेका व्यावसाियक तरकारी फार्महरुमा गोलभेँडामा टुट्टा किराले बालीनाली नष्ट गरेको हो । जलजला गाउँपालिका–७ धाईरिङमा लगाइएको गोलभेडामा पातमा आक्रमण गरेको यो किराले बिस्तारै बोट र फल समेत खाएर नोक्सान गर्ने कृषि प्राविधिकहरुले जानकारी दिएका छन् ।
पुत्ला जातको यो किराले किसानलाई बाली पाक्ने बेलामा सबैभन्दा बढी सताउने गरेको जलजला–७ का अगुवा कृषक सागर सुबेदीले जानकारी दिनुभयो । पकुवाका सूर्यवहादुर केसी, गणेश पौडेल र दिपेन्द्र क्षेत्रीको व्यवसायिक कृषि फार्ममा अत्याधिक रुपमा टुट्टाले आक्रमण गरेको छ ।
रोग नियन्त्रण गर्न किटनाशक विषादीको प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले सुझाउनुभएको छ । धेरै मात्रामा आक्रमण गरेको भए विषादी प्रयोग गर्ने र थोरै मात्रामा भए बजारमा पाईने किरा आकर्षण गर्ने एक प्रकारको पासो थापेर किरा मार्न सकिने रेग्मीले बताउनुभयो ।
आक्रमण रोक्न मोहनी पासो थापेमा नियन्त्रण गर्न सकिन्छ । प्राय जसो धेरै पानी परेको समयमा यो किराको आक्रमण बढ्ने कृषि प्राविधिकहरु बताउँछन् ।
कोरोना, असिना र किराको प्रकोपले कृषकहरु समस्यामा परेको ज्ञान केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *