एनबिआईले सरकारलाई दियो ३० लाख बराबरको एक हजार पीपीई, स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा दिने

काठमाडौं।  राष्ट्रिय व्यवसायिक पहल(एनबिआई)ले ३० लाख मूल्य बराबरको एक हजार व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) सरकारलाई हस्तान्तरण गरेको छ।

एनबिआईका अध्यक्ष कुशकुमार जोशीले उद्योगमन्त्री लेखराज भट्टलाई पीपीई हस्तान्तरण गरेका हुन्। सो सामाग्री स्वास्थ्य मन्त्रालयले आवश्यकता हेरेर सातै प्रदेशमा दिनेछ। मन्त्री भट्टले कोरोना संक्रमणको संकटपूर्ण अवस्थामा प्राप्त भएको सहयोगका लागि धन्यवाद दिए। उनले लकडाउनका कारण बन्द उद्योग पूर्ववत् रूपमा चलाउन निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाए।

एनबिआईका अध्यक्ष जोशीले कोरोनाका कारण आर्थिक सामाजिक रूपमा ठूलो आर्थिक संकट आएको बताउँदै अर्थतन्त्र चलायमान बनाउन एकीकृत राहत कार्यक्रम ल्याउन आग्रह गरे। बन्द भएका उद्योग व्यवसाय सुरक्षित तरिकाले पूर्ववत् अवस्थामा चलाउन सरकारले सहजीकरण गर्नुपर्ने उनले बताए।

एनबिआईका संस्थापक अध्यक्ष पद्म ज्योतिले बन्द भएका उद्योग पूर्ण संचालनमा ल्याउन सरकार र उद्योगीबीच छलफल आवश्यक रहेको बताए। एनबिआईका सदस्य एवं सांसद उमेश श्रेष्ठले उद्योग र मजदुरको सुरक्षाका लागि सरकारसँग छलफल आवश्यक रहेको बताए।

कार्यक्रममा उद्योग सचिव चन्द्रप्रसाद घिमिरे, वाणिज्य सचिव बैकुण्ठ अर्याल, एनबिआईका महासचिव सुरेन्द्रवीर मालाकार, कोषाध्यक्ष दीपक मल्होत्रा, सचिव गोपीकृष्ण न्यौपाने र जोन्ता क्लबकी मिरा ज्योति उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *