आजदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने

Source: बैंकिङ खबर । मन्त्रिपरिषद्को वैशाख २४ गतेको निर्णयअनुसार आज आइतबारदेखि देशभरका बैंक तथा वित्तीय संस्थाका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थाका अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । सरकारले लकडाउन घोषणा गरेपछि सीमित शाखाबाट मात्र दैनिक केही घण्टा मात्र सेवा प्रवाह भइरहेको थियो ।
यसैबिच राष्ट्र बैंकले पनि सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई सेवाग्राहीको भीड नहुने गरी सेवा प्रवाह गर्न निर्देशन दिएको छ । 

बैंकले सूचना प्रकाशित गर्दै बैंकबाट इजाजतप्राप्त “क” “ख” “ग” र “घ “बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल सरकारको मिति २०७७ बैशाख २४ गतेको निर्णयानुसार बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यकीय सेवा प्रवाह गर्नु पर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारी मध्ये एक तिहाई कर्मचारीद्धारा सेवा संचालन गर्न भनेको छ । यस्तै बैंकिङ कार्यका लागि संचालनमा रहेका कुल सवारी साधनमध्ये एक चौथाईमा नबढ्नेगरी सवारी पास उपलब्ध गराउन पनि निर्देशन दिएको छ । यसका साथै वित्तीय संस्थाहरुले कोभिड १९ को संक्रमणबाट बच्न अवलम्बन गर्नु पर्ने मापदण्डहरु पालना हुने गरी देहाय बमोजिम कार्यबाट बैंकिङ सेवा सुचारु गर्न सुचित गरेको छ ।

१. कर्मचारीहरुमा हुन सक्ने संक्रमण तथा संस्थाको Business Continuity लाई मध्यनजर गर्दै यथासम्भव एक तिहाई कर्मचारीहरुबाट सेवा सुचारु राख्ने । यसका लागि Remote Access Work From Home, Shift wise Work लगायतका व्यवस्था अवलम्बन गर्न सकिने ।

२. बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ती तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाको न्यूनतम उपायहरु (Sanitizer, Mask, Disinfectant, Thermal Scanning, Hand Gloves आदि ) अनिवार्य रुपमा अवलम्बन गर्ने ।

३. सेवाग्राहीहरुको भीडभाड नहुने सुनिश्चितताका साथ सेवा प्रवाह गर्ने । 

४. विद्युतिय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहित गर्ने । 

५. बैंकिङ सेवा सुचारु गर्न आवश्यक सवारी साधनको हकमा सम्बन्धित संस्थामा रहेका सवारी साधनको बढीमा २५ प्रतिशत सवारी साधन संचालन गर्न बैंकको प्रधान कार्यालयले सवारी नं., सवारी उपयोग गर्नेको नाम, जानु आउनु पर्ने स्थान तथा समय तोकी पत्र उपलब्ध गराउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *