
असाेज १२ पाेखरा र्चाडपर्वका बेला हुन सक्ने सम्भावित अपराध न्यूनीकरण गर्न कास्कीमा सात सय ३५ प्रहरी परिचालित हुने भएका छन् ।
कोभिड–१९ का कारण आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले सो संख्यामा प्रहरी परिचालन गर्ने भएको हो ।
कास्की प्रहरीले ‘चाडपर्व दसैं सुरक्षा योजना– २०७७’ सार्वजनिक गर्दै जिल्लामा चौबिसै घन्टा गस्ती गरिने जनाएको छ ।
कास्की प्रहरीका प्रवक्ता सुवास हमालले भर्चुअल पत्रकार सम्मेलनमार्फत प्रहरीले मोबाइल गस्तीदेखि पैदल गस्ती गरिने बताए ।
यसका लागि कमान्ड पोस्टबाट सात जनाको टोलीसहित कन्ट्रोल रुमका ११० जना परिचालित हुनेछन् ।
कास्कीका दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना हुने भएका छन् ।
चाडपर्वका बेला यात्रुलाई पर्न सक्ने समस्या तत्काल समाधान गर्ने उद्देश्यले कास्की प्रहरीले पृथ्वीचोक र बागलुङ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गर्ने जनाएको छ ।
दुबै कक्षमा ६/६ जना प्रहरी रहने र उनीहरुले यात्रुलाई कोरोना सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नेछन् ।
कास्की छिर्ने तीन नाका– छोरेपाटन, मजुवा र जौबारीमा ‘यात्रुसँग १ मिनेट’ कार्यक्रम पनि चलाइने हमालले बताए ।
उनले भने, ‘यात्रुलाई समस्या परेको भए समाधान गर्न र उनीहरुलाई हुन सक्ने अपराधबारे सचेत गराउन कार्यक्रम चलाउँछौं ।’
नजिकिँदै गरेका चाडपर्व आफू बसेकै ठाउँमा मनाउन कास्की प्रहरीले अनुरोध गरेको छ ।
कोरोना महामारी फैलिन बाट जोगिने र अनावश्यक खर्चपनि नहुने भन्दै प्रहरीले चाडवाडमा धेरै हिँडडुल नगर्न आग्रह गरेको हो । साभार समाधान दैनीक