पर्वतको फलेवासका ७ वटा बस्ती जोखिममा, स्थानान्तरण गर्न सिफारीस


लक्ष्मण सापकाेटा पर्वत असाेेज १, लगातार वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती जोखिममा परेका छन् ।
वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन् ।
फलेवास नगरपालिकाको विपद व्यवस्थापन समितिले नगरपालिकाका सात वटा बस्ती स्थानन्तरण गर्न संघ र प्रदेश सरकारमा सिफारीस गरेको छ । सात वटा बस्तीका झण्डै १ सय घरपरिवार जोखिममा रहेको भन्दै बस्तीनै स्थानान्तरण गर्नका लागि सिफारीस गरिएको फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।
नगरपालिकाको विपद् व्यवस्थापन समितिका अनुसार वडा नं. ४ मुडिकुवाको चुरी, वडा नंं १० कुर्घाको फल्ला, वडा नं. २ थापाठानाको दरदरे, वडा नं. ३ शंकरपोखरीकोे पुर्कोट, सोहि वडाको रुग्दी र वडा नं. ६ देविस्थानको राहले बस्ती स्थानान्ततरण गर्न सिफारीस गरिएको नगरप्रमुख शर्माले जानकारी दिनुभयो । अधिकांस बस्ती सडक निर्माणका कारण जोखिममा परेका हुन् । सवैभन्दा बढि कुर्घामा २५ घर र चुरीमा २० घर जोखिममा रहेका छन् ।
संघ र प्रदेश दुवै सरकारमा सिफारी गरि पठाइएको र नगरवाट सम्वोधन हुन सक्ने जोखिमयुक्त ठाउँमा भने नगरलेनै योजना बनाएर पुर्नस्थापनाका कार्य अघि बढाउने शर्माले बताउनुभयो ।
त्यस्तै बाढिपहिरोका कारण नगरपालिका भित्र रहेका खानेपानी, विद्युत, सिंचाईका योजनाहरुमा पनि क्षति पुगेको छ । ती योजनाहरुलाई मर्मत गर्नका लागि सम्वन्धित कार्यालयमा माग गरि पठाउने निणर्य समेत वैठकले गरेको छ ।
विस्थापित भएकाहरुलाई तत्काल राहतका लागि नगरपालिकाले पहल गर्ने भएको छ । केहि दिनदेखिको लगातारको वर्षापछि नगरपालिकाभित्र पुगेको क्षतिको नगरप्रमुख र प्राविधिक सहितको टोलीले अध्ययन र अनुगमन गरेपछि बसेको विपद व्यवस्थापन समितिको वैठकले बस्तीनै स्थानान्तरण गर्नका लागि सिफारीस गरेको हो ।
अविरल बर्षाका कारण पहिरो जादा पहिरोमा पुरिएर गत सोमबार फलेवार नगरपालिकाको वडा नं.४ मुडिकुवा स्थित शिर्सुवामा स्थानीय नबिन विककी ३ वर्षीया छोरि निकिता विकको ज्यान गएको थियो ।
सोहि दिनको वर्षाका कारण नगरका सवैजसो वडामा क्षति पुगेको थियो । वर्षाका कारण अबरुद्ध बनेका मुख्य मुख्य ग्रामीण सडकहरुमा निर्माणाधिन भए सम्वन्धित आयोजनालाई र अन्यमा नगरपालिकाको स्काभेटर लगाएर खुलाउने निणर्य समेत नगरपालिकाले गरेको नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।