पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत- पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।
स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उहाँकी तीन बर्षिया छोरी निकिता विकको ज्यान गएको हो । मृतक बालिकाको शब केहि वेर अघि निकालिएको फलेवास नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष टिकाराम गौडेलले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएर नविन विककी श्रीमती लक्ष्मी विक सहित अन्य दुई जना घाईते भएका छन् । घर पुरिँदा घाईते भएकाहरुको गाउँले र स्थानीयवासीले उद्धार गरेका थिए । पहिरोले बगाएर बाँसको झाँगमा पुराएको अवस्थामा तीनजनाको उद्धार गरिएको थियो ।
स्थानीय घनश्याम भुसालका अनुसार पहिरोले पुरिएर उनको घरमा पालिएका दुई भैसी र एवटा गोरु समेत पुरिएको छ । विहान चार वजेको समयमा पहिरो आएर घर पुरिएको भुसालले बताउनुभयो । पहिरोले दोबिल्ला फलेवास सडक समेत पहिरोले क्षतबिक्षत भएको छ ।
यता जिल्ला प्रहरी कार्यालय पर्वतले पहिरोमा पुरिएर एक बालिकाको ज्यान गएको जनाएको छ । घटनास्थलमा सुरक्षाकर्मि र स्थानीयवासीले उद्धारको काम गरेको र विस्तृत विवरण आउन बाँकी रहको प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।