पर्वतको कुश्मामा करदाता सेवा कार्यालय स्थापना


लक्ष्मीप्रसाद सापकोटा
पर्वत, २४ भदौ । पर्वत सदरमुकाम कुश्मामा करदाता सेवा कार्यालय स्थापना भएको छ । आन्तरिक राजश्व कार्यालय बागलुङले करादाता सेवा कार्यालयको रुपमा सोमबारदेखि कुश्माबजारवाट कारोवार शुरु गरेको हो ।
निजामति सेवा दिवसको अवसर पारेर करदाता सेवा कार्यालयले सेवा प्रारम्भ भएको छ । लामो समयदेखि प्रदेश राजधानी पोखरा र विगत दुई वर्षदेखि छिमेकी जिल्ला बागलुङ्गबाट दिदै आएको सेवा लिन पर्वतबासीलाई अपायक भएको गुनासो आएपछि पर्वतमै सेवा कार्यालय स्थापना गरिएको आन्तरिक राजस्व कार्यालय बागलुङ्गले जनाएको छ ।
सरकारले २४ जिल्लामा करदाता सेवा कार्यालय थप गर्ने योजना अनुसार पर्वतमा पनि कार्यालय स्थापना गरिएको आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत हेमराज सुबेदीले जानकारी दिए ।
कार्यालय स्थापनापछि राजश्व सम्वन्धी सवैजसो कामहरु लिन सकिने भएको छ । कर चुक्ता प्रयोजन तथा ब्यवसायलाई मूल्य अभिबृद्धि कर तथा स्थायी लेखा नम्बर लिनका लागि बागलुङ जानुपर्ने बाध्यता हटेको छ । जिल्लमा झण्डै ७ हजार भन्दा बढि करदाताहरु रहेका छन । पछिल्लो समय पर्वतमा मुल्यअभिबृद्धि करबाट कारोबार गर्नेको संख्या पनि बढ्दै गएका बेला आन्तरिक राजश्व कार्यालयले करदाता सेवा कार्यालय संचालन गरेपपछि सहज हुने भएको छ ।
सरकारले कर्मचारीको ब्यक्तिगत पान नम्बर समेतलाई अनिवार्य गरेसंगै करदाताको संख्यामा अझै धेरै बृद्धि हुदै गएको छ । पर्वतको दक्षिणी क्षेत्रका करदातालाई बागलुङ जिल्ला अपायक भएको गुनासो ब्यवसायीहरुले गर्दै आइरहेका थिए । शिक्षक, कर्मचारी लगायत अन्य रोजगारीमा रहेकाहरुको ब्यक्तिगत पान नम्बर लिनुपर्ने ब्यबस्थाका कारण पनि कार्यबोझ बढेको अबस्थामा नयाँ कार्यालयले कुस्माबाटै सेवा दिन थालेपछि सहज हुने भएको छ ।
कार्यालयको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले पहिलो सेवाग्राहीलाई पान नम्बर दिएर सेवा शुभारम्भ गरे । । प्रजिअ रेग्मीले सेवा शुभारम्भ गर्दै दर्ता भएका करदातालाई बिना झण्झट सहज र सरल रुपमा सेवा दिनुपर्ने कुरामा जोड दिदै कर तिर्न योग्य भएका सबैलाई करको दायरामा ल्याउन आग्रह गरे ।
आन्तरिक राजश्व कार्यायलले करदाता सेवा कार्यालय कुश्मामा स्थापना गरेपछि पर्वतका ब्यवसायीहरुलाई ठूलो राहत मिलेको पर्वत उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले बताए । कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका प्रमुख नवराज सापकोटाले आन्तरिक राजस्व कार्यालयले लिने अन्त शुल्कको काम कोलेनिकाबाट हुँँदै आएकोमा पर्वतमानै सेवा कार्यालय खुलेपछि आफ्नो कार्यालयको कार्यबोझ समेत घटेको बताए ।
नजिकमा कार्यालय स्थापना भएपछि अवसर र चुनौती दुवै हुने भएकाले व्यावसायीहरुले आफ्नो व्यावसाय गर्दा स्पष्ट अभिलेख राख्न करदाता कार्यालय पर्वतका प्रमुख शुन्दर श्रेष्ठले आग्रह गरे । उनले पटक पटक कार्यालय अनुगमनमा समेत आउने भएकाले व्यवसायलाई चुस्त दुरुस्त राख्न पनि आग्रह गरे ।